ताजा समाचार

कांग्रेस बैठक रोकेर एकाएक राष्ट्रपति भेट्ने शितल निवास किन पुगे देउवा ?

काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् । कांग्रेस कार्यसम्पादन समितिको बैठकलाई रोकेर देउवा राष्ट्रपतिलाई भेट्न शितल निवासमा पुगेका हुन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्वन्धमा परामर्श गर्न बोलाएकाले सभापति देउवा शितल निवास गएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गरेकी थिइन् । ओलीसँगको भेटवार्ता सकिएलगत्तै उनले प्रधानमन्त्री देउवालाई शितल निवासमा बोलाएकी हुन् ।

सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको छ । तर कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश संवैधानिक राष्ट्रपतिले स्वीकृत गर्ने संवैधानिक जिम्मेवारी भएको तर्क गर्दै आएको छ ।

नेकपा एमाले आफ्नो अडानबाट पछि हट्ने संकेत दिएपछि अब राष्ट्रपति अध्यादेश जारी गर्ने मनसायमा पुगेकी छन् । त्यसैको पूर्वतयारी स्वरुप राष्ट्रपतिले दलका नेताहरुसँगको भेटवार्तालाई तीब्रता दिईरहेकी हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org