ताजा समाचार

आन्दोलनकारी आफैंले तोके प्रदेश ७ को राजधानीसहित ‘मन्त्रालय’

डोटी, २० पुस । डोटीमा आन्दोलनकारीहरु आफैंले प्रदेश ७ को राजधानी स्थापना गरेका छन् । सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी बनाउने तयारी गरेपछि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा उत्रिएका डोटीका जनताले दिपायलस्थित क्षेत्रीय कार्यालयलाई राजधानी तोकेका हुन् ।

उनीहरुले क्षेत्रीय कार्यालयहरुमा विभिन्न मन्त्रालयका साईन वोर्ड लगाएका छन् । साथै जिल्लाका सरकारी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । बिहीवार बिहान प्रदर्शनकारीले राजपुरमा रहेका क्षेत्रीय कार्यालयका भवनहरुमा बिभिन्न प्रादेशिक मन्त्रालयका साईन वोर्ड झुण्ड्याएका हुन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयको नव निर्मित भवनमा प्रदेशसभा सचिवायल तथा मुख्यमन्त्रीको कार्यालयको साईन वोर्ड राखिएको छ । यस्तै क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृहमन्त्रालयको वोर्ड झुण्ड्याइएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्वास्थ्य, शिक्षा तथा सामाजिक बिकास मन्त्रालय, खानेपानी कार्यालयको भवनमा अर्थ मन्त्रालय, शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा भौतिक पूर्वाधार मन्त्रालयका साईनवोर्ड राखिएका छन् ।

आन्दोलनकारीहरुले क्षेत्रीय पशु सेवा निर्देशनालयमा बन, बिज्ञान तथा भुमी सुधार मन्त्रालय र कृषि निर्देशनालयको भवनमा कृषि, पशु तथा सहकारी मन्त्रालय स्थापना गरेका छन् । सरकारले आफ्नो अधिकार खोस्न थालेपछि आफुहरुले बाध्य भएर आन्दोलनबाटै मन्त्रालय स्थापना गर्नु परेको आन्दोलन संयोजन समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org