ताजा समाचार

बालुवाटारमा देउवामाथि खनिदै प्रचण्डले भने, ‘देउवा ज्यू के अझै २/४ वर्ष सरकारमै बस्ने हो र ?’

काठमाडौं, २० पुस । सत्ता हस्तान्तरणको विषयलाई लिएर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । बिहीबार बिहान बालुवाटारमा आयोजित पाँच दलको बैठकमा नयाँ सरकार निर्माणका विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भनाभन भएको हो ।

प्रधानमन्त्री देउवा आफैंले बोलाएको बैठकको सुरुवात गर्दै तीनवटा विषय प्रदेश प्रमुख, अस्थायी राजधानी र राष्ट्रियसभाको चुनावबारे छलफल गर्न आमन्त्रण गरेको भन्दै कुराकानी सुरु गरेका थिए । आफ्नो धारणा राख्दै देउवाले सबै विषयमा सरकारले तयारी गरिरहेको र सत्ता हस्तान्तरण ‘शान्तिपूर्ण’ रुपमा गर्न आफू तयार रहेको बताएका थिए ।

देउवाले आफ्नो छोटो धारणा राख्ने बित्तिकै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’ भन्ने भनाइप्रति आपत्ति जनाउँदै छिटो नयाँ सरकार बन्ने वातावरण बनाउन सुझाव दिए ।

प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एमाले नेता सुवास नेम्बाङले भने, ‘प्रधानमन्त्री ज्यू, शान्तिपूर्ण सत्ता हस्तान्तरण भन्ने तपार्इंको भनाइलाई करेन्सन गर्न चाहन्छु । सत्ता हस्तान्तरण त तपाईंले होइन जनताले गरिसके । तपाईंको हातबाट हामीलाई (वाम गठबन्धनलाई) दिइसके । अब यसलाई कार्यान्वयन गरिदिनुहोस् ।’

प्रचण्डपछि बैठकमा बोलेका एमाले उपाध्यक्ष भीम रावल सकारकारप्रति निक्कै खनिए । भने, ‘राष्ट्रियसभा चुनावको मिति खोइ ? अध्यादेशले अड्कायो भन्नुभयो । त्यो पनि पारित भइसक्यो, बैठक मात्र राख्ने हो कि सत्ता हन्तारण पनि गर्ने हो ?’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org