ताजा समाचार

यस्ता पनि चिकित्सक ! प्रसूति गराउँने क्रममा शिशुको हातै भाँचिदिए

विराटनगर, २३ पुस । विराटनगरको नोबेल मेडिकल कलेजमा प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिएको छ । मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा अछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्। तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन्।

१० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूलाई दबाब दिएको ताराका ससुरा धनलाल सार्कीले जानकारी दिए । ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी छन्। उनको पहिलो सन्तान पाँच वर्षकै छोरा छन्।

ताराका पति चन्द्र अछामी पाँच महिनाअघि वैदेशिक रोजगारीमा गएका छन्। ‘जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसँग हामीले गुनासो राख्यौं,’ धनलालले भने, ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दबाब दिएका कारण हामीले पनि तत्काल यो कुरा बाहिर ल्याउन सकेनौं।’

शिशुको भाँचिएको हातको उपचार गर्न र बुहारीको प्रसूति गराउने क्रममा अस्पतालले आफूसँग ६० हजार रुपैयाँ लिएको पनि उनले बताए। उनका अनुसार प्रसूति गराउने काममा संलग्न चिकित्सकले शल्यक्रिया गर्नु नपर्ने र सामान्य अवस्थामा बच्चा जन्मिन सक्ने भन्दै हात हालेर बच्चा निकालेका थिए। हात हालेर जबरजस्ती निकाल्दा बच्चाको हातै भाँचिदिएको परिवारको गुनासो छ ।

नोबेलले भने प्रसूति गराउँदा शिशुको हात भाँचिएको कुनै जानकारी नभएको जनाएको छ । अस्पतालका प्रशासकीय अधिकृत दीपेश राईले भने, ‘अस्पतालले त्यस्तै कुनै कमजोरी गरेको जानकारी छैन,’ उनले भने, ‘अन्जानमा भएको भए पनि बिरामीको उपचारलाई अस्वीकार गर्ने कुरै हुँदैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org