ताजा समाचार

वाम एकता संयोजन समितिको बैठक एक सय दिनमा आज दोस्रो पटक बस्दै, के छ एजेन्डा ?

काठमाडौं, २५ पुस । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ । बैठकले राजनीतिक-बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् ।

एमाले र माओवादीले असोज १७ गते चुनावी गठबन्धन घोषणासँगै भविष्यमा पार्टी एकताको उद्घोष गरेका थिए । र, यसका लागि उच्चस्तरीय पार्टी एकता संयोजना समिति पनि बनाएका थिए ।तर, यो समितिको दोस्रो बैठक करिब एक सय दिन पुग्दा आज बस्दैछ । यस अघि यो समितिको बैठक कार्तिक १४ गते बसेको थियो । यद्यपी यसबीचमा शीर्ष नेताहरुबीच भने पटक–पटक अनौपचारिक छलफल भैरहेको थियो ।

आजको बैठकको एकमात्र एजेण्डा बैचारिक राजनीतिक र सांगठानिक संरचना कस्तो बनाउने भन्ने छ । ‘वैचारिक–राजनीतिक र सांगठनिक संरचनालाई केन्द्र विन्दुमा राखेर छलफल हुन्छ, त्यो छलफलबाटै अरु एजेण्डा तयार गरिन्छ,’ एकता संयोजन समितिका सदस्य तथा माओवादी नेता नारायणकाजी श्रेष्ठको भने, ‘सुरुमा त बैठक नै बस्नुपर्छ, त्यो बैठकमा स्वभाविक रुपमा आ–आफ्नो दलमा भएका गृहकार्यका बारेमा जनाकारी गराइन्छ । त्यसपछि यो–यो फ्रेमभित्र रहेर यी–यी काम गर्ने भन्ने मोटामोटी सहमति बन्छ त्यो सहमतिपछि बल्ल केके गर्ने भन्ने बाटो तय गर्छ ।’

यसअघि आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । उक्त छलफलमा सोमबार दुवै दलले आन्तरिक छलफल गर्ने र मंगलवार पार्टी एकता संयोजन समितिको वैठक बस्ने तय भएको थियो । त्यसै अनुसार सोमवार एमालेको स्थायी समिति बैठक बस्यो भने माओवादी अध्यक्ष प्रचण्डले पार्टीका नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org