ताजा समाचार

सरकारको चलाखी: उच्च अदालत भएकै ठाउँमा प्रदेश कार्यालय खोल्ने तयारी (सूचिसहित)

काठमाडौं, २६ पुस । सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । विभिन्न विकल्पमाथि छलफल गरिरहेका सरकारले यो विकल्पलाई अति उत्तम मानेको छ । यसअघि सातवटै प्रदेश प्रमुखको कार्यालय राजधानीमा तोक्ने तयारी गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले सबैलाई सहज हुनेगरी अस्थायी मुकाम तोक्न भनेपछि सरकार नयाँ विकल्पमा जुटेको हो ।

यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझाब नदिएपछि सरकारले तत्काल अस्थायी मुकाम नतोकी सबै प्रदेशको सम्पर्क कार्यालय राजधानीमा तोक्ने तयारी गरेको थियो। त्यस्तो तयारीको आलोचना भएपछि सरकार नयाँ विकल्पमा प्रवेश गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय तोक्नेबारे कानुनविद् र मन्त्रीहरूसँग परामर्श गरेका छन्। सो विकल्पमा एमाले र माओवादीको पनि सहमति जुटाउने प्रयास भइरहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

उच्च अदालत तोकिएकै स्थानमा प्रदेशको कार्य सञ्चालनका लागि कार्यालय खोल्ने विकल्पमा छलफल केन्द्रित भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव केशवराज जोशीले बताए । ‘सरकारले यसअघि नै सातवटै प्रदेशमा उच्च अदालत तोकिसकेको छ। अब प्रदेश प्रमुखको कार्यालय पनि त्यहीँ तोक्नुपर्छ,’ जोशीले भने, ‘अब सातवटै प्रदेशमा कार्य सञ्चालनका लागि कार्यालय खुल्न सक्छन्।’

दलहरूबीच सहमति नजुटेको, विभिन्न जिल्लामा प्रदेश राजधानीको माग गर्दै प्रदर्शन हुन थालेपछि सरकारले अस्थायी मुकाम नतोकी कार्यालय मात्र तोक्ने नीति लिएको हो। ‘दलीय सहमतिमै होस् भनेरै प्रधानमन्त्रीले सर्वदलीय छलफल डाकेर प्रयास गर्नुभएको हो। तर, जिम्मेवार दलले जिम्मेवार निर्णय दिएनन्, उल्टै विवादित बनाउने काम गरे,’ कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘प्रदेशको राजधानी स्थायी होस् कि अस्थायी, यो सरकारले तोक्न सक्दैन। संविधानको धारा ८८ उपधारा २ अनुसार प्रदेश सभाको दुईतिहाइले केन्द्र तोक्ने हो। कार्य सञ्चालनका लागि सरकारले बीचको बाटो लिँदै छ।’

उच्च अदालत रहेको स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्दा तत्काल कसैपनि विरोध नरहने निष्कर्ष निकाल्दै सरकारले त्यही अनुरुप गृहकार्य गअडि बढाएको छ । यदि उच्च अदालत भएकै ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोलिने हो भने प्रदेश १ को अस्थायी कार्यालय विराटनगर , प्रदेश २ को जनकपुर, प्रदेश ३ को पाटन, प्रदेश ४ को पोखरा, प्रदेश ५ को तुलसीपुर, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org