ताजा समाचार

विभेद अन्त्य गर्न बैतडीमा छोरी जन्मिए एक हजार भत्ता

बैतडी, २६ पुस । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन सुरु गरेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन सुरु गरेको हो ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । ‘हाम्रो समाजमा अझै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ,’ उनले भनिन्, ‘यसबाट छोराछोरीबीचको विभेद अन्त्य हुनेमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानीय कुत्ती भुलले बताइन् । श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिँदा थप एक हजार मिल्यो,’ उनले भनिन्, ‘पैसा कमै भए पनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो ।’

छोरा जन्मिँदा मात्रै खुशी हुने हाम्रो समाजका लागि गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी आउने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख अहेब प्रेमबहादुर चन्द बए । छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो । रासस

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org