ताजा समाचार

गगन थापाको गतिविधिले कम्युनिष्टलाई फाईदा भयो भन्दै कारबाहीको तयारी, के साँच्चै होला त ?

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्मा र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरज राणा देउवाविरुद्ध अनर्गल प्रचारबाजी गरेर पार्टीलाई क्षति पुर्‍याएको आरोप लागेको छ ।

विश्वप्रकाश शर्मालाई पार्टीको विधानअनुसार देउवाले मंगलबार प्रवक्तामा नियुक्त गरेपछि गगन समूहले सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा र आरजु राणा देउवाविरुद्ध विभिन्न खालका भ्रामक सन्देशहरू फैलाएको हो । नेपाली कांग्रेसका एकजना केन्द्रीय सदस्यले गगन थापामा अहँताले बास गरेको आरोप लगाए ।

‘गगनजीले गुटगत भेला गर्नुभयो । विशेष महाधिवेशन माग गर्नुभयो । कम्युनिष्टहरूलाई फाइदा पुग्ने गरेर कांग्रेसको नीति र सिद्धान्तविरुद्ध अभिव्यक्ति दिँदै आउनुभएको छ’, नाम उल्लेख नगर्ने सर्तमा ती केन्द्रीय सदस्यले भने, ‘उहाँका विरुद्ध धेरै गुनासो र उजुरीहरू आइरहेको छ । अब अनुशासनको कारबाही गर्नुभन्दा अर्को विकल्प देखिएन ।’

पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै गगन थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र लगाम लगाउनुपर्ने माँग उठेको एक नेताले बताए । शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्दै गुटगत भेला आयोजना गरेका गगन थापाले बाबुराम भट्टराई, रविन्द्र मिश्रहरूसँग मिलेर डा. गोविन्द केसी प्रकरणमा सर्वोच्च अदालतविरुद्ध व्यक्तिगत चर्चा हाँसिल गर्ने उद्देश्यले जथाभावी बोलेको आरोप छ ।

कांग्रेसले सधै न्यायपालिकाको स्वतन्त्रतामाथि आँच आउन नदिएको भन्दै नेताहरूले गगन थापाले कसैको उक्साहटमा न्यायालयमाथि नै धावा बोलेको आरोप लगाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान जम्मा भएका कांग्रेसका नेताहरूले कांग्रेसको नीति र सिद्धान्त विपरित गगन थापाका गतिविधि एवम् क्रियाकलापहरू हुन थालेको भन्दै चिन्ता जनाएका थिए ।

जवाफमा सभापति देउवाले ‘युवा नेताहरू भनेर सबैले उचाल्छन् त्यही भएर होला गगनजीहरूमा अहँता आएको’  उल्लेख गरेका थिए । बैठकमा सहभागी एक नेताले भने, ‘गगनजीले युवाहरूले नेतृत्व लिनुपर्ने भन्दै विधान विपरित भेला आयोजना गर्नुभयो, त्यतिमात्रै होइन चर्चाको लागि उहाँले पार्टी नेतृत्व विरुद्धमा बोल्नुभयो, यो गलत हो, पार्टीको विधान, नीति, सिद्धान्त र अनुशासन बाहिर गएर बोल्न पाइँदैन, त्यस्तै गतिविधि गरेकोले उहाँलाई कारबाही गर्नुपर्छ भन्ने माँग साथीहरूले गर्नुभयो, यस विषयमा सोचेर निर्णय लिने समझदारी भएको छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org