ताजा समाचार

बालुवाटार पुगेर रामचन्द्र पौडेलले देउवालाई संसदीय बोर्ड खाजेर गर्नुपर्छ भनेपछि…

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई बालुवाटार बोलाएका थिए । बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्नेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकमा आफूले भने पार्टी केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेको नेता पौडेलले बताए । ‘पार्टी सभापतिजीसँग कुरा भएको छ’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘मैले विधान विपरीत भएकाले संसदीय बोर्ड र कार्यसम्पादन समिति दुवै खारेज गर्न माग पनि गरेको छु ।’

पार्टीमा करेक्सन जरुरी रहेको भन्दै पौडेलले त्यसको सुरुवात यहीँबाट हुनुपर्ने बताएका छन् । चुनावपछि पौडेल समूहले संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेजीको माग अघि सारेको छ । कांग्रेसको विधानअनुसार संसदीय बोर्ड बढीमा १४ सदस्यीय हुनेछ । तर, अहिले २४ जना केन्द्रीय नेताहरु छन् । यसैगरी कार्यसम्पादन समितिमा पदाधिकारीसहित २९ केन्द्रीय नेताहरु छन् ।

साथै बैठकमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे समेत छलफल भएको छ । पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा छलफल गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको अवस्थामा आज छलफल भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org