ताजा समाचार

काठमाडौंका विभिन्न अस्पत्तालबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं, १५ माघ । काठमाडौंका विभिन्न अस्पत्तालहरुबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन् । पक्राउ पर्नेहरुमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक समेत रहेका छन् ।

सीआईबीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा विभिन्न अस्पत्तालमा छापा मारेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको सीबिआईले जनाएको छ । यसअघि पनि विभिन्न क्षेत्रबाट कैयौ नक्कली डाक्टरहरु पक्राउ परिसकेका छन् ।

राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम गरिरहेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले जानकारी दिए । अनुसन्धान जारी रहेको र छानबिनपछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने सिआइबीका डिआइजी पुष्कर कार्कीले जानकारी दिए ।

डा. खत्रीका अनुसार पक्राउ परेका उनीहरु मध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन् । विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलका नियम अनुसार अनुमति लिनुपर्छ। सिअाइबीसँगै काउन्सिलका तर्फबाट छापा मार्न  पुगेका डा खत्री भन्छन्, ‘उनीहरुले चिकित्सा अध्ययन पनि नगरेको हुन सक्ने देखिएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org