ताजा समाचार

बुधबार बेलुकी चन्द्रग्रहण, १५२ वर्षपछिको खगोलीय घटना, के गर्न हुन्छ ? के हुँदैन ?

काठमाडौं, १६ माघ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । ‘शास्त्रीयरुपमा बालक, वृद्ध र रोगीबाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ’–उनले भने ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुलेमात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चांगमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्नसकिनेछ ।

स्वस्थानीको उद्यापन बिहानैः
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एकमहिने स्वस्थानी व्रत बुधबार बिहान ८ बजेर ५५ मिनेटअघि नै गर्नुपर्ने प्रा. डा. गौतमले बताए । ८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्नेछ ।रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org