ताजा समाचार

पक्राउ परेका ‘नक्कली डाक्टर’ लाई ७ दिन थुन्न अदालतको आदेश, छुटाउन प्रहरीमाथि दवाव

काठमाडौं, १७ माघ । काठमाडौंका विभिन्न अस्पत्तालबाट पक्राउ परेका नक्कली डाक्टरलाई ७ दिन थुन्न अदालतले आदेश दिएको छ । गत सोमबार पक्राउ परेका नक्कली डाक्टरहरुलाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत सोमबार पक्राउ गरेको थियो।

राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए।

पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलिय नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन्। विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलको नियम अनुसार अनुमति लिनुपर्छ। अनुमति नै नलिई बिरामीको परिक्षण गरेको पाइएकाले उनीहरुलाई ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिएको हो।

छुटाउन प्रहरीमाथि सञ्चालकहरुको चर्का दबावः
पक्राउ परेका नक्कली डाक्टरहरु छुटाउन प्रहरीमाथि चर्को दवाव सुरु भएको छ । उनीहरुलाई छाड्न अस्पताल सञ्चालकहरुले दवाव दिन थालेका हुन् । पक्राउ परेका डाक्टरहरुलाई छोड्नको लागि अस्पताल सञ्चालक र चर्चित डाक्टरहरुले नै फोन गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।

ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले ‘कसैको थ्रेट र दबाबमा उन्मुक्ति नपाउने’ दावी गरे। ‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैसँग छैन। प्रहरीले अनुसन्धानमा कुनै कसुर छोड्दैन,’ उनले भने।

http://news-nepal.com/736942/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org