ताजा समाचार

प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन बैठक आज बस्दै, सुरक्षा व्यवस्था कडा

काठमाडौं, १८ माघ । प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन आजबाट सुरु हुँदैछ । सात प्रदेशमध्ये प्रदेश ३ को अधिवेशन सबैभन्दा पहिले हेटौडांमा सुरु हुन लागेको हो । प्रदेश ३ अन्तगतका सबै (१३) जिल्लाका प्रदेश सांसद् अधिवेशनमा सहभागी हुनेछन् । उनीहरु राजधानी हेटौंडा पुगिसकेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयमा अधिवेशन हुनेछ ।

प्रदेशसभा स्थल वरपर निकै चहलपहल बढेको छ । बुधबार (हिजो) बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको थियो । कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन् । जेष्ठ सदस्य भएकाले डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।

त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ । बैठकको अन्तिममा अन्तरिम कार्यविधि (२०७४ को दफा ९६० को उपदफा–१) अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ ।

प्रदेश ३ मा काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै यस प्रदेशमा सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला समेटिएका छन् । प्रदेश ३ मा ११० सदस्यीय संसद छ । यो सातैवटा प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा हो । यो प्रदेशसभामा एमालेको एकल बहुमत छ भने संसदमा कांग्रेस, एमाले, माओवादी, विवेकशील साझा, नयाँशक्ति, राप्रपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक समेत ८ दलको प्रतिनिधित्व छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org