ताजा समाचार

प्रदेश ७ को माओवादी संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन, धामी र चौधरी रुष्ट

कैलाली, २३ माघ । नेकपा माओवादी केन्द्र प्रदेश ७ को संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् । माओवादी सचिवालय सदस्य एवं प्रदेश इञ्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेता चयन भएसँगै भट्ट मुख्यमन्त्रीको उम्मेदवार बन्ने बाटोसमेत खुला भएको छ । भट्ट संसदीय दलको नेतामा चयन भएपछि केही सांसदले एकलौटी निर्णय भन्दै असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेहरुमा दार्चुला प्रदेशसभा सदस्य मानबहादुर धामी, कैलालीका सांसद् बीरमान चौधरी रहेका छन् ।

माओवादीको प्रदेश कमिटीले यसअघि नै मुख्यमन्त्रीको उम्मेदवार भट्टलाई बनाउन पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको थियो । उनी डोटी प्रदेश ‘ख’ बाट निर्वाचित सांसद् हुन । बैठकमा कैलालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित चौधरी र दार्चुलाबाट निर्वाचित धामीले संसदीय दलको नेतामा आ–आफ्नो दावी प्रस्तुत गर्दै आएका थिए ।

संसदीय दलको निर्णयप्रति दुवै नेताले असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा आफूहरुको दावीमाथि छलफल नै नभएर एकलौटी रुपमा निर्णय भएको धामीले बताए । संसदीय दलको नेताका अर्का दावेदार चौधरीले पनि विधि र प्रक्रियाविनै निर्णय भएको बताए । आफुहरु संसदीय दलको नेता तथा मुख्यमन्त्रीको प्रमुख दावेदार रहेको बताउँदै उनीहरुले लेखराज भट्टले परिवारवाद लादेको आरोप लगाए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org