ताजा समाचार

धनुषामा फेरी अर्की महिलामाथि मट्टितेल छर्केर जिउँदै जलाएर हत्या प्रयास

धनुषा, २४ माघ । धनुषामा एक नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले जीउमा मट्टीतेल छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरिएको हो । आगो लागेर उनको टाउँकोभन्दा तलको शरिरको सम्पूर्ण भाग जलेको छ । जलेर गम्भीर घाइते भई उपचारको लागि काठमाडौंको किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।

हजरा क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरका स्थानीय अलिशेख कवारीका २४ वर्षका छोरा रसिद राइनकी श्रीमती हुन् । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरी टोलीले उद्धार गरी हजरालाई उपचारको लागि अस्पताल पठाएको थियो ।

घटना स्थलबाटै प्रहरीले हजराका पति रसिदलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना गएको शनिबार बिहान ९ बजेको हो । माइतीपक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिवारका सम्पूर्ण सदस्यले मट्टीतेल छर्केर जीउदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँच जना विरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।

हजराकी आमा जनकपुर उपमहानगरपालिका–२०, देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुन माथि उजुरी दिएको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म हजराका श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–२, किशोरी नगरकी २२ वर्षकी रञ्जना शर्मा हत्या काण्डको घटना सेलाउन नपाउँदै पुनः अर्को घटना घटेपछि स्थानीय महिलाहरु त्रसित बनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org