ताजा समाचार

प्रदेश १ को राष्ट्रिय सभा सदस्यको दुबै सिटमा वाम गठबन्धन विजयी

विराटनगर, २४ माघ । प्रदेश १ को राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना समेत सकिएको छ । आजै भएको दुई सिटको लागि भएको निर्वाचनको सम्पन्न मतगणना अनुसार वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २ सय ७० मत ल्याएर विजयी भएका छन ।

उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार ८३२ मत प्राप्त गरे । उक्त पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको एक जनाको मत बदर भएको छ । यस्तै अपांगतारअल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै अगमप्रसाद बान्तवा राई बिजयी भएका छन । राईले ६ हजार १३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत प्राप्त गरे । यो पदमा स्थानीय तहका १० र प्रदेशसभाका २ जनाको मत बदर भएको छ ।

राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल, नेपाली कांग्रेसका सरिता प्रसाई छन् । यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन् । विजयी उम्मेदवारलाई भोलि प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org