ताजा समाचार

प्रदेश १ को मुख्यमन्त्री छान्न एमालेभित्र आज चुनाव, तीन जनाको भिडन्त रोचक बन्ने

विराटनगर, २६ माघ । प्रदेश १ मा एमालेको संसदीय दलको नेता छान्न आज चुनाव हुँदैछ । नेताहरुबीच सहमति हुन नसकेपछि आज चुनाव हुन लागेको हो । तीनजना नेताहरु भीम आचार्य, शेरधन राई र जीवन घिमिरे संसदीय दलको नेताको दाबीका साथ मैदान उत्रिएका छन् । विधान अनुसार जो संसदीय दलको नेता हुन्छ त्यही सो प्रदेशका मुख्यमन्त्री पनि हुन्छ । यी तीनै नेता मुख्यमन्त्रीको दाबीका साथ मैदानमा उत्रिएपछि संसदीय दलको नेता छान्न सकस देखिएको हो । संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने भएकाले तीनैजना नेताहरु आन्तरिक लविङमा जुटेका छन् ।

एमाले भित्र देखिएको गुटगत राजनीतिले मनोनयन दर्ता गर्ने समय बिहान ११ बजेसम्म कुन मोड लिन्छ यसै भन्न सकिने अबस्था छैन । आचार्य र घिमिरे नेपाल पक्षका तथा राई ओली पक्षमा हुन् । ओली पक्षका नेता भानुभक्त ढकाल राईलाई मुख्यमन्त्री बनाउन केही दिनदेखि बिराटनगरमा नै बसेका छन् ।

नेपाल गुटका योगेश भट्टराई पनि विराटनगरमा आएर आचार्यको पक्षमा लविङ गरेका छन् । तर जीवन घिमिरेको पक्षमा भने अहिलेसम्म कोही पनि त्यसरी खुलेरै लागेको देखिँदैन । चुनावको बेलासम्म घिमिरेले आफ्नो नाम फिर्ता लिन सक्ने सम्भावना बलियो रहेको बताईन्छ । तर घिमिरे आफू चुनावमै जाने दाबी गर्दै आएका छन् । घिमिरेले आफ्नो नाम फिर्ता लिएपनि कसलाई समर्थन गर्ने भन्नेमा अझै खुल्न सकेका छैनन् ।

केन्द्रीय नेताहरुले आफ्ना निकटका नेताहरुलाई समाएर बस्दा १ नम्बर प्रदेशमा मुख्य मन्त्री छान्ने बिषय पेचिलो बनेको हो । शेरधन राईलाई जिताउनको लागि जीवन घिमिरेलाई गोटीको रुपमा अघि सारिएको केही नेताहरु बताउँछन् । १ नम्बर प्रदेशमा नेपाल निकटका ३१ जना रहेको बताईरहँदा तीनैजना चुनावमा जाँदा राईको पक्षमा मत बढ्ने आँकलनले घिमिरेलाई गोटीको रुपमा अघि सारिएको हुनसक्ने एमाले श्रोत बताउँछ ।

माओवादी संसदीय दलको नेतामा टंक आङबुहाङः
प्रदेश १ को समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेतामा ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई छानेको हो । क्यानका पूर्व अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सदस्य समेत रहेका थिए । त्यस्तै माओवादी केन्द्रले ईन्द्रवहादुर आङ्बोको नेतृत्वमा प्रदेश सरकार जाने निर्णय गरेको छ ।

संसदीय दलको नेता र सरकारमा जाने ब्यक्तिको टुङ्गो लागेसँगै उपसभामुखको बिषयमा माओवादीले टु‌ंग्याउन सकेको छैन । एमालेले सभामुखमा पुरुष दियो भने उसले महिला दिने तयारी गरेको छ भने एमालेले सभामुखमा महिला दिँदा माओवादी केन्द्रले उपसभामुखमा पुरुष दिनेगरी आन्तरिक गृहकार्य गरेको छ । यसरी हेर्दा एमालेले सभामुखको टुंगो नलगाउँदा सम्म माओवादीले उपसभामुखको टुंगो लगाउन नसक्ने देखिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org