ताजा समाचार

बालुवाटारमा अर्थमन्त्री र एमाले नेता रावलबीच चर्काचर्की, देउवाले हस्तक्षेप नगरे के हुन्थ्यो ?

काठमाडौं, २६ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमाले उपाध्यक्ष भीम रावल र अर्थमन्त्री ज्ञानेन्द्र कार्कीबीच जुहारी चलेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा उनीहरुबीच जुहारी चलेको हो । बैठकमा एमाले उपाध्यक्ष रावल बोलिरहेका बेला अर्थमन्त्री कार्की पुगे ।

रावलले सीईओ गोविन्द पोखरेललाई चुनावमा पठाएर प्राधिकरणलाई अस्थिर बनाएको र भूकम्प पीडितहरुप्रति गैरजिम्मेवार भएको आरोप लगाएका थिए । साथै उनले कुन ऐन र नियमावलीअनुसार थप एक लाख अनुदान दिने निर्णय भयो भन्ने प्रश्न गरेका थिए ।

निर्देशक समितिबाट पास गराएमा मात्र मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने उनको तर्क थियो । उनले सरकारमाथि प्राधिकरणलाई अस्थिर र निकम्मा बनाएको आरोप लगाइरहँदा अर्थमन्त्री कार्की बैठकमा प्रवेश गरेका थिए । रावल बोलेलगत्तै उनले भूकम्प पीडितलाई एक लाख दिने निर्णय सही भएको तर्क गरे ।

एमाले उपाध्यक्ष रावलले प्रतिवाद गरे । आफूले ‘तपाईं ढिलो आउनुभयो । मैले यहाँ विधि प्रक्रियाको कुरा गरेको छु,’ सरकारले स्वेच्छाचारी ढंगले निर्णय गर्न मिल्दैन भन्दा अर्थमन्त्री ‘बुरुक्क उफ्रिएर’ आफू भएको ठाउँमा आएको रावलले बताए । ‘हामीलाई स्वेच्छाचारी भन्ने’ भन्दै अर्थमन्त्री पाखुरा सुर्किएर आएको एक सहभागीले बताए । जवाफमा एमाले नेता रावलले ‘त्यसो भए निर्देशक समितिबाट किन निर्णय गर्नुपर्‍यो, अर्थमन्त्रालय फर्मान जारी गर्नुस्,’ भनेका थिए ।

दुई नेताबीचको जुहारीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका छन् । दुबै नेताबीच चर्काचर्की भएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नु परेको थियो । उनले आफूहरुको चुनावी प्रतिवद्धता भएकाले एक लाख दिने निर्णय गरेको भन्दै विवाद नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org