ताजा समाचार

प्रदेश ३ को एमाले दलको नेता डोरमणि पौडेल विजयी, ओलीले घात गरेको अष्टलक्ष्मी आरोप

काठमाडौं, २६ माघ । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यलाई १० मतले पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन् ।

यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् । पौडेल संस्थापन पक्षका हुन् भने शाक्य माधव नेपाल समुहकी हुन् ।

दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए । प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।

यसैवीच संसदीय दलको नेतामा पराजय भोगेकी शाक्यले आफूविरुद्ध पार्टी अध्यक्ष केपी ओलीले गुटबन्दी गरेको आरोप लगाइन् । ओलीले गरेको षडयन्त्रका कारण आफुले हार व्यहोर्नु परेको भन्दै यो पार्टी र केपी ओलीका लागि नै घातक हुने चेतावनी  दिइन् । उनले आफुलाई हराउन अध्यक्ष ओली लागेर समग्र महिला आन्दोलनकै अपमान गरेको बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org