ताजा समाचार

अध्यक्ष ओलीले मेरो राजनीति जीवनमा साह्रै अपमान गर्नुभयोः अष्टलक्ष्मी शाक्य

काठमाडौं, २६ माघ । नेकपा एमाले प्रदेश ३ को दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । विजयी भएसँगै प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का छ । उनी एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन् । शाक्य पराजित भएसँगै एमालेले एकमात्र महिला मुख्यमन्त्री पाउने ईतिहासको अवसर गुमाएको छ ।

पराजित भएपछि प्रतिक्रिया दिँदै शाक्यले आफु गुटगत राजनीतिको शिकार भएको बताईन् । आफ्नो राजनीति जीवनमा पहिलो पटक साह्रै नरमाईला अनुभव भईरहेको भन्दै उनले भनिन्, ‘पार्टीको केन्द्रीय तहबाट यस्तो हुनु मेरो लागी साह्रै अपमान हो । मलाई मेरो पार्टीको अध्यक्षले यति साह्रो अपमान गर्नुभयो, सहन गाह्रो भएको छ । यसबाट उहाँको हाइट घटेको छ ।’

प्रदेश संयोजकको हैसियतले आफुलाई पार्टीको सचिवालयले मुख्यमन्त्री बन्ने भनेर प्रदेशमा पठाएको तर, चरम गुटबन्दीको शिकार भएको बताईन् । चरम गुटबन्दीको शिकारका कारण जीवनमा सबैभन्दा दुःख लागेको बताईन् ।बिहीबार पार्टी अध्यक्षलाई भेटेकी शाक्य चुनाव जित्नेमा निकै आशावादी थिईन् । तर तिनै अध्यक्षले घात गरेको कारण आफु पराजित भएको उनको भनाई छ ।

‘सबैभन्दा दुःख लाग्दो कुरा त के भने हिजो अध्यक्षलाई भेट्न जाँदा के छ स्थिति भन्नुभयो । मैले जित्छु, तपाईले सहयोग गर्नुस् भनेँ । उहाँले हार्ने गरी नउठ्नुस भन्नुभयो । मैले जित्छु र सघाउनुस् भन्दा त्यसो भए उठ्नुस भन्नुभयो । तर, उहाँले यस्तो गरेर छक्याउन हुन्छ ? अहिले आएर सभामुख लिनुस् भन्दा मान्नुभएन भनेर प्रचार गरिएको छ । उहाँले त्यसो भनेको होइन र सभामुख लिनुस् भन्दा मान्नेवाला पनि थिइन । तर, अध्यक्षको तहबाट मविरुद्ध चरम गुटबन्दी भएकोमा स्तब्ध छु ।’ निकै भावुक हुँदै शाक्यले भनिन् ।

आफु विजयी भएको भए प्रदेशसभालाई चलाउन सजिलो हुन सक्ने भन्दै अब कसरी चलाउनुहुन्छ आफुले हेर्ने बताईन् । उनले भनिन्, मेरो अण्डमा भए राम्रो हुन्थ्यो । उहाँ (डोरमणि) ले अब कसरी चलाउनुहुन्छ पनि हेर्छु । म पार्टीको प्रदेश संयोजक हुँ । प्रदेश सरकार चलाउन, मन्त्री बनाउन वा अन्य काम गर्न पार्टीको निर्देशन र समन्वय चाहिएला । कसरी काम गर्नु हुँदोरहेछ म हेरौंला ।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org