ताजा समाचार

काँग्रेसमा युवा नेताहरु विभाजित, गगन समुहपछि अर्को नयाँ प्रस्ताव आउने

काठमाडौं, ११ वैशाख । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यहरुनै विभाजित देखिएका छन् । निर्वाचन समीक्षाका लागि डाकिएको बैठकमा २२ युवा सदस्यहरुको संयुक्त प्रस्ताव ल्याउने भनिए पनि युवाहरुबीच संयुक्त प्रस्तावमा एकमत नभएपछि दुई प्रस्ताव आउने निश्चित भएको हो ।

बैठकको ९ औं दिन दोश्रो वक्ताका रुपमा बोलेका केन्द्रीय सदस्य गगन थापाले सात युवा नेताहरुको सामुहिक प्रस्ताव बैठकमा पेश गरेका थिए । थापाले राखेको प्रस्ताव प्रदिप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव र जीवन परियारको सामुहिक प्रस्ताव भएको बताइएको छ ।

जारी वैठकमा केन्द्रीय सदस्य नविन्द्रराज जोेशी र कल्याण गुरुङको पहलमा १५ सदस्यहरुले आजैको बैठकमा अर्को प्रस्ताव पनि पेश गर्ने भएका छन् । बैठकमा ल्याउन लागिएको युवाहरुको अर्को प्रस्तावमा कमला पन्त, सरिता प्रसाई र बद्रि पाण्डेको पनि समर्थन रहने बताइएको छ ।

थापाले राखेको प्रस्तावमा विगतको पृष्ठभूमिलाई सबिस्तार रुपमा राखिएको छ । सामुहिक प्रस्तावमा निर्वाचन पराजयमा एउटा मात्रै कारण नभएको उल्लेख गरिएको छ । तर, हारमा जिम्मा कसले लिने भन्नेमा द्धिविधा नभएको प्रस्तावमा जनाइएको छ ।

प्रस्तावमा शीघ्र महासमिति बैठक बोलाई महाधिवेशन गराएको अवस्थामा सभापतिको ब्यक्तिगत हित हुने प्रस्तावमा सभापतिलाई सुझाइएको छ । आगामी निर्वाचनमा काँग्रेसको बहुमत ल्याउनका लागि १५ लाख थप मतदाता आवश्यक रहेको जनाउँदै प्रस्तावमा मतदातालाई आकर्षित र विश्वास दिलाउन आवश्यक रहेको जनाइएको छ ।

चैत ९ बाट जारी बैठकमा युवा सदस्यहरुको सामुहिक प्रस्ताव ल्याउने तयारी भइरहेको थियो । विगतको लामो पृष्ठभूमिलाई पनि कारक मान्ने कि आगामी रणनीतिका विषयमा मात्रै केन्द्रीत हुनुपर्ने विषयमा एकमत नभएपछि छुट्टाछुट्टै प्रतिवेदन पेश गर्ने युवाहरुले तयारी गरेका हुन् ।

युवा नेता थापाले युवाहरुको तर्फबाट आउने अर्को प्रस्तावको विपक्षमा आफु नरहेको बताए । उनले भने–‘आजको स्थिति निर्माण हुनुमा विगतको इतिहास पनि हेरौं भन्ने हो । केही साथीहरुले आगामी रणनीतिका विषयमा मात्रै केन्द्रीत हुनुपर्ने भन्ने छ ।’

वैठकमा आज केन्द्रीय सदस्यहरु साथै पदाधिकारीहरुले आफ्ना धारणा राख्ने क्रम सकिएको जनाइएको छ । वुधबारको वैठक स्थगित गरि बिहिबार टुङ्याउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org