ताजा समाचार

कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ– नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका बझाङ जिल्लाका पूर्वसभापति ज्योतिप्रकाश जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत नेता जोशीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

लामो समयदेखि मुटु रोगबाट पीडित जोशीको शनिबार कैलालीको धनगढीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको हो ।  सभापति देउवाले स्वर्गीय जोशीले पुर्याउनुभएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै जोशीको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।

स्वर्गीय जोशीले विसं २०३६ को जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । वि.सं २०४२ को सत्याग्रह, वि.सं २०४६ को ऐतिहासिक जनआन्दोलन र वि.सं २०६२÷०६३ मा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलनका क्रममा उनले जेल जीवन व्यतित गरेका थिए ।

स्वर्गीय जोशी दुई कार्यकाल बझाङ जिल्लाको सभापति भएका थिए । उनले नेपालमा लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काँग्रेसले जनाएको छ । उनका श्रीमती, दुई छोरी र तीन छोराहरु रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org