कोइराला परिवारका तिन नेता केमा व्यस्त छन्
प्रतिपक्षी दल कांग्रेसभित्र पार्टी बलशाली बनाउने बहस चलिरहँदा कोइराला परिवारका सदस्यको रणनीति र सक्रियताबारे सबैको चासो देखिन थालेको छ । पछिल्लो महाधिवेशनदेखि शीर्ष नेतृत्वको घेराबाट बाहिरिएको ‘कोइराला परिवार’ यति बेला योजनाबद्ध रूपमा आफ्नो साख र शक्ति आर्जन गर्ने यत्नमा छ ।
‘स्वाभाविक रूपमा सबै नेताले दलभित्र आफ्नो स्थान र भूमिका बढाउन खोज्छन्’, कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘धरासयी हुँदै गएको पार्टीको अस्थालाई उकास्न पनि कोइराला परिवारले रणनीतिक रूपमा काम गरिरहेको जस्तो लाग्छ ।’
तर, जानिफकारहरू भन्छन्, ‘कोइराला परिवारको ध्येय भनेको गुमेको पार्टी नेतृत्व आफ्नै हातमा फर्काउने नै हो । पार्टीभित्र उनीहरूले नयाँ र ताजा तरिकाले आफ्नो बुर्जा निर्माण गर्न चाहेका छन् । कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र केन्द्रीय सदस्यकै पार्टी हैसियतमा रहेकी सुजाता कोइरालाको राजनीतिक चरित्र र संगठन गर्ने अलगअलग शैली र गति छन् । पछिल्ला दिनमा कांग्रेसभित्र महामन्त्री शशांक कोइरालाको भूमिका देउवा–पौडेल खेमासँग समदूरीमा प्रकट भइरहेको छ । उनले आफूलाई पार्टीभित्र राजनीतिक रूपमा अधिक सन्तुलित र सचेत देखाउन प्रयत्न गरिरहेको कहीँकतै छिपेको छैन । यस अर्थमा शशांक अलिक धीमा गतिका देखिन्छन् ।
कोइराला परिवारकै अर्का सदस्य शेखर कोइराला भने शशांकभन्दा ठीक विपरीत शैलीमा सक्रिय छन् । उनी पार्टीभित्रका हरेक विषयवस्तु र सन्दर्भमा नेतृत्वको आलोचना मात्र गरिरहेका छैनन्, देशका विभिन्न ठाउँमा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँगको अन्तक्र्रिया र संवादलाई बाक्लो पारिरहेका छन् । गिरिजापुत्री सुजाता क्यान्सरको उपचारपछि घरमै आराम गरिरहेकी छिन् । यद्यपि उनले नेता–कार्यकर्ता भेट्न र आफ्ना एजेन्डामा ‘लबिङ’ भने गरिरहेकी छिन् ।
शशांक, शेखर र सुजाता जसरी फरकफरक ढंगमा पार्टीको केन्द्रदेखि तल्लो तहसम्म छाउने प्रयासमा छन्, के यो उनीहरू सल्लाहअनुरूप नै गरिरहेका हुन् रु या कोइराला परिवारले पार्टीभित्र आफू बलियो हुन सदस्यहरूबीच जिम्मेवारी बाँडफाँट गरेर अघि बढिरहेको हो त रु स्वाभाविक रूपमा यस्ता प्रश्न कांग्रेसभित्र चासोसहित चर्चामा रहन्छन् । महामन्त्री शशांक कोइराला निकट नेता सञ्जय गौतमका शब्दमा ‘कोइराला परिवार पार्टी हितका लागि एक ठाउँमा उभिँदै आएको हो । झन् पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भएको बेला यस्तो प्रयास स्वाभाविक हो ।’ महामन्त्रीका रूपमा शशांकले जुन समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्, त्यो उनको पार्टीगत जिम्मेवारी रहेको उनको भनाइ छ । तर एकथरी विश्लेषकले भने शशांकले पछिल्ला दिनमा पार्टी नेतृत्वको आलोचना नगर्नुलाई उनकै खेमाका अगुवा भनिने वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति बढ्दै गएको अविश्वासका रूपमा अथ्र्याउँछन् । ‘शशांक रणनीतिक नेता हुन्, गएको महाधिवेशनमा पनि उनले देउवा खेमाको प्रभावशाली हिस्सा ठानिएको खुमबहादुर खड्कासँग प्याचअप गरे, जसले उनलाई महामन्त्री चुनिन सजिलो भयो’, कांग्रेसका एक नेताले भने, ‘अहिले पनि उनले देउवालाई बिच्काउन चाहेका छैनन्, आगामी महाधिवेशनमा केकस्तो समीकरण बन्छ, त्यही आधारमा उनी मौन देखिएका हुन्, नेतृत्वको आलोचना गर्न उनी आफैंले शेखरलाई मैदानमा उतारिरहेका छन् ।’
खासमा शेखर र सुजाताको सहयोगमा शशांकले कोइराला परिवारबाट आफू पार्टी नेतृत्वसम्म पुग्न चाहन्छन् भन्ने तर्क यस्ता विश्लेषकहरूको छ । एक वर्षअघि ४ साउन ०७४ मा टोखास्थित डा। शशांकको निवासमा भएको ‘लन्च मिटिङ’ र २ माघ ०७४ मा मण्डिखाटारस्थित सुजाताको निवासमा भएको ‘छलफल’ यसैका लागि थियो भन्ने उहिल्यै सतहमा आइसकेको छ । कोइराला परिवारका सदस्यले नै नियोजित रूपमा लन्च मिटिङ र भेटवार्ताका तस्बिर सामाजिक सञ्जाल र मिडियामा उपलब्ध गराउनुलाई पनि उनीहरूभित्रको आन्तर्य प्रकटीकरणका रूपमा अथ्र्याइएको थियो । ‘नेताहरू पार्टीको परिस्थिति हेरेर मुभ हुन चाहन सक्छन्, झन कोइराला परिवार त राजनीतिक परिवार भएकाले कतिपय कुरा विश्लेषणका आधारमा ठम्याउनुपर्छ’, नेता गुरुङ भन्छन्, ‘ राजनीतिमा यस्ता कुराको अर्थ हुन्छ ।’
कोइराला परिवारलाई पारिवारिक वृत्तबाहिरबाट सघाउने झन्डै एक दर्जन नेता तयार पारिएको ‘गसिप’ पार्टीभित्र नै सुनिन थालेको छ । जानकारहरू भन्छन्, ‘यसको अगुवाइ नेता मीनेन्द्र रिजालले गरिरहेका छन् । रिजालले अगुवाइ गरेको सहयोगी पंक्तिले विभिन्न जिल्ला, क्षेत्र र भ्रातृसंगठनको वस्तुस्थिति बुझेर त्यहाँभित्र कोइराला परिवार ‘लोयल’ नेताकार्यकर्तालाई प्रभावशाली बनाउने जिम्मेवारी पनि पाएको बताइन्छ । ‘यो राजनीतिक कुरा हो, मैले हो पनि भन्दिनँ र होइन पनि भन्दिनँ’, कोइराला परिवारको रणनीति कार्यान्वयनमा सघाइरहेका भनिएका नेता रिजालले अन्नपूर्णसँग भने ।
कोइराला परिवारको यस्तो रणनीतिक ‘मुभ’लाई वर्तमान सभापति शेरबहादुर देउवा खेमाले भने केवल ‘पर्ख र हेर’का रूपमा लिएको छ । ‘कोइराला परिवारको चाहना स्पष्ट भइसकेको छ । तर यो पार्टीलाई एक बनाउने हकमा हो भने ठीक पनि छ । तर अर्को गुट बनाउने अभ्यास हो भने राम्रो होइन’, देउवा निकट एक नेताले भने, ‘तर उहाँहरूको यस्तो अभ्यासले हामीलाई त्यति असर गर्छ भन्ने लाग्दैन । बोल्नुपर्ने केही छैन ।’
अन्नपुर्णपोष्ट
Comments
अरु समाचार
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...