ताजा समाचार

नेकपा बैठक: पार्टी नियमावलीलाई अन्तिम रुप दिन गठन गर्‍यो तीन सदस्यीय कार्यदल

काठमाडौं २३, असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्य दल गठन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी सचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले न्युज-नेपाललाई जानकारी दिए ।

कार्यदलमा बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेका छन्। कार्यदललाई ३ दिनभित्र नियमावलीलाई प्रकाशन हुने गरी अन्तिम रुप दिने कार्यादेश पनि दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी बताए ।

बिहिबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको थियो। स्थायी समिति बैठकमा नेताहरुले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिने गरी कार्य दल गठन गरिएको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे। कार्य दलले तयार पारेको सुझावसहितको नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर सोही दिन प्रकाशनका लागि पठाउने निर्णय पनि गरिएको छ ।

पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पनि मंगलबार नै सचिवालयको बैठक बोलाउने निर्णय पनि गरेको छ। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै ल्याउन र आफू नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्ने सरकारको निर्णय फिर्ता नलिए सडक र सदन दुवै मोर्चाबाट सरकारको चौतर्फी विरोध गर्ने चेतावनीसहितको प्रर्दशन गर्दै आएको छ। सोही सम्बन्धमा पार्टी भित्र समान धारणा तय गर्न मंगलबार पुनः सचिवालय बैठक बोलाइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org