ताजा समाचार

अविरल वर्षाले भक्तपुर डुबानमा, क्रेन र डुंगाबाट मानिसको उद्धार

भक्तपुर २८ असार । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।

अहिले त्यस क्षेत्रमा बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहानैदेखि उद्धार गरिरहेको छ ।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए ।

भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् ।

दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे-निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org