ताजा समाचार

स्वस्थ खानेपानी छैन : ८८ प्रतिशत मुहानमा प्रदुषित

भक्तपुर २८,असार।भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको परीक्षणमा १६ मुहानका पानी प्रदूषित पाइएकाले भक्तपुर महामारीजन्य रोगको प्रकोपको उच्च जोखिममा रहेको बताए ।

कार्यालयले चाँगुनारायण, नगरकोट, नंखेल र सूर्यविनायकमा रहेको खानेपानीको मूलबाट आउने पानीको परीक्षण गर्दा सूर्यवनायक नगरपालिका–६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा–६ नगरकोटस्थित स्वास्थ्यचौकी मूलको पानीमात्रै खानयोग्य पाइएको छ ।

भक्तपुर र मध्यपुरथिमि नगरका बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको मूल रहेको नगरकोटस्थित मुहानपोखरी र बोडेको पानीसमेत प्रदूषित छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आएको खानेपानीमध्ये नगरकोटस्थित मुहानपोखरीमा फिल्टर प्लान्ट नै छैन भने बोडेमा वर्षौंदेखि फिल्टर प्लान्ट बिग्रिएको छ ।

प्रमुख चन्दले भक्तपुर सरुवा रोगको महामारीको उच्च जोखिममा रहेकाले कार्यालयले विपद व्यवस्थापनको अग्रिम तयारी गरेको बताउनुभयो । कार्यालयले विपद् व्यवस्थापनका लागि चिकित्सा अधिकृतसहित चिकित्सक, प्रयोगशाला र औषधिसहितको जनशक्तिलाई तयारी अवस्थामा राखेको छ ।

उनले भने, “जिल्लाका चार वटै नगरपालिकादेखि समुदायस्तरसम्म टोली बनाएको छाँै, स्वास्थ्य तथा स्वयंसेवक टोलीलाई तालीमसमेत दिएर तयारी अवस्थामा राखेका छौँ, जनशक्तिको तयारी र आवश्यक औषधिको भण्डारण गरेका छाँै ।” वर्षायाम शुरु भएसँगै खानेपानीबाट सर्ने हैजा, डेंगु, स्क्रब टाइफस, झाडापखाला, एन्फ्लुएञ्जा, कालाज्वरलगायत रोगको महामारी फैलिनसक्ने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी खान उनलेआग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org