ताजा समाचार

कांग्रेसले निकाल्यो नयाँ बखडा सभामुखको भूमिकाप्रति असन्तुष्ट

काठमाडाैं १८,साउन ।  प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।

शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सबै दलको साझा बन्न नसकेको निष्कर्ष निकाल्दै सभामुख महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको हो । मन्त्रीहरुले बोलेपछि प्रश्नोत्तर गर्न पाईने व्यवस्था हुँदाहुँदै सभामुख महराले बिहिबारको प्रतिनिधि सभा बैठकमा आफूहरुलाई बोल्न नदिएको काँग्रेसको आरोप छ ।

यस सम्बन्धमा सभामुख महरालाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बोलेपछि काँग्रेस सांसदहरुले मन्त्रीसँग प्रश्न गर्न माग गरेका थिए  । तर सभामुख महराले मन्त्रीसँग प्रश्नोत्तर गर्ने छुट्टै व्यवस्था रहेको भन्दै बैठकलाई अघि बढाएपछि काँग्रेसले सो बैठक बहिष्कार गरेको थियो ।

सभामुखको सो भूमिकाप्रति काँग्रेसको असन्तुष्टि छ । प्रमुख सचेतक खाँडले संघीय संसद नियमावलीको धारा २ सय १९ बमोजिम मन्त्रीसँग प्रश्न गर्ने व्यवस्था भएपनि सभामुखले नदिएको आरोप लगाए । बैठकमा काँग्रेसले विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्तावका विषयमा पनि छलफल गरेको थियो ।

काङ्ग्रेस संसदीय दलको बैठकले मौलिक हकसम्बन्धि कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल ल्याउन पनि सरकारसँग माग गरेको छ । जनताको पक्षमा ऐन बनाउने गरी संविधान बमोजिमको मौलिक हक सम्बन्धि कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल संसदमा ल्याउन पनि सरकारसँग माग गरिएको प्रमुख सचेतक खाँडले जानकारी दिए । संविधान बमोजिम आगामी असोज ३ गतेभित्र मौलिक हकसम्बन्धि सबै कानुन निर्माण गरि सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

काँग्रेसले पार्टीको संसदीय दललाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गर्न भोली शनिबार पनि संसदीय दलको बैठक बोलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org