ताजा समाचार

लोकन्थली -कोटेश्वर सडक खण्डको वैकल्पिक सडक सञ्चालनमा ल्याइने

काठमाडाैँ २७, साउन । लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गरेका ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान अन्तर्गत उक्त सडक खण्डमा चाप कम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याउन लागिएको हो।

सांसद बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक  हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख जगत नेपाली तथा अन्य सरोकारवाला सहितका टोलीले उक्त क्षेत्रको अवलोकन गरेपछि सडक मर्मत तथा ग्राभेल विछ्याउन थालिएको छ।

‘कोटेश्वर–जडीबुटीको चाप हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न, भक्तपुरका बालुवाखानीमा देखिएका अनियमितता नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्न थालिएको  छ,’ बस्नेतले भने।

उनले नयाँ सञ्चालनमा ल्याउन लागिएको पेप्सीकोला जडीबुटी सडकबाट चाहबिल जाने सवारी साधन सञ्चालन गराइने, ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टिकाथली तथा बालकुमारी सडक मर्मत सकिएलगत्तै दुईवटा बेलिब्रिज राखेर यातायात सञ्चालन गराइने तयारी गरिएको  जानकारी दिए।

४३ करोड रुपैयाँको लगानीमा सञ्चालित मनोहरा जग्गा एकीकरण आयोजनामा रहेको नौ मिटर चौडा सडकमा केही दिनमै एकातर्फी यातायात सञ्चालनमा ल्याइने भएको छ। त्यस्तै मनोहरा नदीको दायाँबाँया २०/२० मिटर चौंडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर सडक तत्काल निर्माण गर्न सांसद बस्नेतले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिएका छन्।

करिडोर निर्माण भएसँगै जडीबुटी नाकामा यातायातका साधनको चाप कम हुने उल्लेख गर्दै सांसद बस्नेतले सडक चापको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरुङ मार्ग नै भएको बताए। उनले कोटेश्वर सडकको दाँयाबाँया सर्भिस ट्र्याक निर्माणका लागि डिपिआर  तयार भइसके पनि नागरिक उड्यान प्राधिकरणका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको बताए।

अहिले कोटेश्वरसम्मको चाप न्यूनीकरणका लागि विकल्पको रुपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडकको करिडोर निर्माण गर्न १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म तीन करोड विनियोजन भएकामा काम सम्पन्न हुने चरणमा  छ। मेलम्ची खानेपानीको ढल विछ््याउने कार्यले योजना सम्पन्न गर्न केही ढिलाइ हुन गएको थियो।

वागमती सभ्यताले हनुमन्ते करिडोर सडक निर्माणका लागि रू ९१ करोड  विनियोजन भइ निर्माण कार्य पनि अगाडि बढिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org