ताजा समाचार

प्रतिनिधि सभा बैठक : विषयगत समितिले सुझावसहित ८ वटा विधेयक प्रतिवेदन पेश

काठमाडौं २८,भदाै । आज बस्ने प्रतिनिधिसभा बैठकमा संसदका विभिन्न ५ वटा विषयगत समितिले सुझावसहित ८ वटा विधेयक प्रतिवेदन पेश गर्दैछन् ।

संशोधन प्रस्तावसहित विभिन्न दफावार छलफलका लागि प्रतिनिधिसभाले दिएका विधेयकका बुँदामा समितिले सहमति जुटाएर आज बस्ने बैठकमा पेश गर्न लागेका हुन् ।
प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजेका लागि बोलाइएको छ ।

आगामी असोज २ गते भित्र मौलिक हकसँग सम्बन्धित बिभिन्न कानुन बनाईसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले दर्जन बढी विधेयक ल्याएको थियो । यि विधेयकहरु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिबाट प्रमाणित भएर कानुनका रुपमा आउनेछन् ।

बिहीबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ता संरक्षण विधेयक र रोजगारीको हक सम्बन्धी विधेयक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची रहेको संसदका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

सहप्रवक्ता अर्यालका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य अधिकारसम्बन्धी विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनियता सम्बन्धी विधेयक, विकास तथा प्रविधि समितिले आवास अधिकार सम्बन्धी विधेयक प्रतिवेदनसहित पेश गर्नेछन् ।

संसदकै शिक्षा तथा स्वास्थ्य समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक प्रतिवेदनसहित बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।

करिब एक दर्जन विधेयकहरु अझै सम्बन्धित समितिमा दफावार छलफलका क्रममा छन् । संसदमा दर्ता भएका झण्डै २६ विधेयकहरु असोज २ भित्र दुवै सदनबाट पास भएर कानुनका रुपमा ल्याइसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, समय घर्किदै गएपनि धेरैजसो विधेयकहरु अझैपनि छलफलकै क्रममा रहेका छन् । जसले गर्दा असोज २ भित्र कानुन बनिसक्नेमा आशंका उव्जिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org