ताजा समाचार

के तपाई विमानस्थल आसपासमा चगां उडाउदै हुनुहुन्छ भने होसियार ! पर्नु होला प्रहरीको फन्दामा

काठमाडाैँ ११,असोज । वर्षा ऋतु सकिएर आउने शरद ऋतुले जब दशैंलाई निम्तो दिन्छ, काठमाडौंलगायत देशका सफा आकाशमा चंगा उडाएर मनोरञ्जन लुट्नेहरु हाेडबाजी चल्छ । तपाईं पनि विगत वर्षहरुका यस्तै दृश्यबाट लोभिएर चंगा उडाउने सोचमा त हुनुहुन्न ?

विमानस्थल आसपास बसोबास गर्दै आइरहनु भएको तपाईं यदि यस्तो सोचमा हुनुहुन्छ भने तपाईंलाई खिन्न बनाउने खबर छ । अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष चंगा उडाउन पाइने छैन । जबरजस्ती गरेर अाफ्नाे इच्छा पूरा गर्न खाेजेमा नियन्त्रणमा लिएर प्रहरीले तपाईंलाई कारबाही गर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका अन्य आन्तरिक विमानस्थलहरुको उडान तथा अवतरणको सुरक्षामा ध्यान दिँदै चंगा उडाउन प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै काठमाडौं उपत्यकालगायत विमानस्थल रहेका स्थान वरपर चंगा उडाउन पाइने छैन ।

चंगाबाट उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको प्राधिकरणले जबर्जस्ती गरेमा प्रचलित कानूनअनुसार कडाभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । अटेरी गर्नेलाई कारबाही हुने प्राधिकरणले जनाए पनि कस्तो प्रकृतिको कारबाही हुन्छ भन्नेबारेमा स्पष्ट खुलाइएको छैन ।

‘कसैले यो सूचनाको अवज्ञा वा अटेरी गरी यस्तो गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही हुने व्यहोरा जानकारी गराइन्छ’, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org