ताजा समाचार

दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा

मोरङ१२ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा आएको छ ।

विराटनगर- १४ स्थित श्रीकृष्ण गौशालाले उत्पादन गरेको बायोग्यास वितरण सुरु गरिएको हो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्लान्टमा प्राविधि समस्या आएपछि करिब २० दिन वितरण रोकिएको थियो ।

एकसाता याता निरन्तर रुपमा घरमै ग्यास आउन थालेको उपभोक्ताले बताएका छन् । ‘ग्यास बन्द भएपछि सिलिण्डर प्रयोग गर्दै थियौं’ स्थानीय जागेश्वर यादवले भने, ‘बन्द भएको ग्यास बल्न थालेको एकसाता जति भयो ।’ बायोग्यास आउन थालेपछि सिलिण्डरको प्रयोग गर्न छाडेको उनले बताए ।

बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास वितरण गर्दा बिजुली गडबड हुदा ‘मेम्ब्रेम’ मा समस्या आएपछि मर्मतका लागि ग्यास वितरण बन्द गरिएको थियो ।

प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि भारतबाट प्राविधिक बोलाइएको थियो । सिड कन्सल्टेण्ट एण्ड इन्जिनियरिङ दिल्लीबाट आएका इन्जिनियरसहितको टोलीले मर्मत गरेको थियो ।

गौसेवा समिति अध्यक्ष संकरलाल अग्रवाल केही दिन मर्मत गरेर ग्यास वितरण सुरु गरिएको बताउछन् । ‘बिजुलीको गडबढीले स्टेपलाइजरमा समस्या देखिएपछि गाह्रो भएको थियो’ उनले भने, ‘त्यसलाई रिरप्लेस गरेका छौ । समस्या देखिएको स्थानमा मर्मतपछि चालु भएको हो ।’

गौसेवा समितिलाई विद्युत नभएका बेला पनि सहज रुपमा ग्यास वितरण गर्न जिल्ला समन्वय समिति मोरङले विराटनगर महानगरपालिका मार्फत जेनेरेटर दिएको थियो । दुई महिनाअघि नै दिने निर्णय भए पनि अझै जेनेरेटर गौशाला पुगेको छैन । ‘जेनेरेटर आएको भए हामीलाई धेरै सहज हुन्थ्यो’ उनले भने ‘ जेनेरेटर नहुदा लाइन नभएको बेला पनि ग्यास वितरण गर्न अझै समस्या छ ।’

गौसेवा समितिले ८० घरमा वितरणको लक्ष्यसहित बायोग्यास वितरण प्रक्रियाको गत भदौ ५ गते उद्घाटन गरेको थियो । सुरुमा ३२ घरमा जडान गरिएको थियो । अध्यक्ष अग्रवाल ग्यास वितरण गर्न पाइपलाइन बिच्छयाउदा आवश्यक सामाग्री समयमा नै आपूर्ति नभएका कारण थप ४८ घरमा जडान गर्न समय लागेको बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org