ताजा समाचार

काभ्रेका भूकम्पपीडितले घर नबनाई फिर्ता गरे राहत रकम

बनेपा ।  भूकम्पले निजी आवासमा क्षति पुर्याएको लाभग्राहीले आफ्नो नाम परे पनि पहिलो किस्ता रकम लिएर घर नबनाई फिर्ता गरेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणले छिटो गति लिनका लागि गरेको पहलमा सम्झौता गर्ने र पहिलो किस्ता रकम लिएर घर निर्माण नगर्नेले गत पुस १५ गते भित्रमा रकम फिर्ता गर्न सकिने सार्वजनिक सूचना जारी गरेको थियो ।

जिल्लामा ३२ जना लाभग्राहीले घर निर्माण गर्न नसकेको भन्दै रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले बताए । ‘प्राधिकरणले तोकिएको समयसीमा समाप्त भए पनि घर निर्माण गर्न नसक्नेले अझै पनि रकम फिर्ता गर्न चाहेमा गर्न सकिन्छ ।’ रेग्मीले भने,‘जसरी हुन्छ वास्तविक भूकम्प लाभग्राहीले कि त घर बनाउनु पर्यो, कि त रकम फिर्ता गर्नुपर्यो ।’

रकम लिने र घर निर्माण नगर्ने जो कसैको मनसाय भए पनि रकम असुल गरिने अभियानमा रहेको उनले बताए । त्यसको लागि पहिलो किस्ता लिएर घर नबनाउने लाभग्राहीबाट रकम फिर्ता गराई नाम लाभग्राहीको सूचीबाट हटाइने र त्यसको प्रभाकारी कार्यान्वयनको लागि अनुगमन प्रक्रिया तीव्र बनाइने उनले जानकारी दिए ।

पुनःनिर्माणको अभियानसँगै बाँकी रहेका मौलिक घरलाई प्रवलिकरण गर्न प्रोत्साहन गर्ने र सो प्रयास देशैभर गर्न सकेमा भूकम्पीय जोखिम पनि कम हुने तथा मौलिकबस्ती पनि जोगाइ राख्न सकिने उनको भनाई छ । साथै एकीकृत बस्ती विकासमा जोड दिने र यसमा स्थानीय तहलाई अधिकार दिने तथा तेस्रो किस्ता लिनेलाई निर्माण सम्पन्न प्रमाणपत्र दिनुअघि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाउने लगायतको प्रक्रियामा रहेको बताए ।

काभ्रेपलाञ्चोकमा निजी आवास पुनःनिर्माणको लाभग्राहीको लागि ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकोमा अनुदान सम्झौता गरेर पहिलो किस्ता लिनेको सङ्ख्या ७२ हजार १७ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org