ताजा समाचार

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

पूर्णप्रसाद मिश्र

काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।

स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियानको ३०६औँ हप्तामा टेकू दोभानस्थित वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो।

सफाइमा पूर्वराजदूत भिक्ट्रीशम्शेर जबरा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरे, सफाइ अभियानकर्मीलगायत ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २० संस्थाको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा छहारी संस्थाले अमेरिका र स्पेनका नौ जना पर्यटकलाई पनि उपस्थित गराएको थियो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २६७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–८ को संयोजनमा त्रिभुत्रवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।

सफाइमा आउनेलाई नदीभित्र छिर्ने गरी आवश्यक सामग्रीसहित आउन वाग्मती सुन्दरता सरोकार मञ्चले आह्वान गर्दै आएको छ । माटो र कुहिने फोहरलाई डम्पिङ साइटमा नपठाउन पनि मञ्चले सफाइ अभियानकर्मीलाई अनुरोध गरेको छ । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घसंस्थासहित स्थानीयवासी गरी ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २६१ हप्तामा रातो पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिए ।

विष्णुमती सफाइको २३३औँ हप्तामा तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाबीचको सङ्गमस्थल मनोहर तीर्थ क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, टोखा नगरपालिका–९ का वडाध्यक्ष जेपी नेपाललगायत जनप्रतिनिधि, तीनवटै सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी ५०० जनाभन्दा बढीको सक्रियता थियो ।

सो अवसरमा नगर प्रमुख बोहराले विष्णुमती नदीमा हालिएको ढल व्यवस्थापन गर्न अधिकार सम्पन्न वाग्मती समितिलाई अनुरोध गरे । उपत्यकाका ठूला नदीमा ढल व्यवस्थापन गर्ने जिम्मेवारी अधिकार सम्पन्न वाग्मती समितिलाई दिइएको छ ।

वाग्मतीको तिलगङ्गा क्षेत्रमा २०७औँ हप्ताको सफाइ काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । जनचेतनामूलक सफाइका क्रममा फोहर र प्लास्टिक नजलाऔँ भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिए ।

सो अवसरमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको थियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११६औँ हप्ताको सफाइ गरियो । ११५ जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए ।

मनोहरा नदी सफाइको १०६औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँट क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले बताए । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहाल, नं ३२ का अध्यक्ष नवराज पराजुलीलगायत १२५ भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

चक्रपथ सफाइ अभियानको १०२औँ हप्तामा बसुन्धरा चौकी तिलिङ्गाटार चौकी क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिए । सफाइमा जम्मा भएको फोहरलाई पुनःप्रयोग गर्न सकिने र नसकिने गरी दुई वर्गमा छुट्याइएको थियो । सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्राली लगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

आलोक नगर सफाइको १०२औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए । सो अवसरमा प्लाष्टिक सडकमा नफालौँ भन्ने लगायत विषयमा जनचेतनामूलक अभियान चलाइएको थियो ।

चक्रपथ बाफल खण्ड सफाइको ८४औँ हप्तामा सोल्टी दोबाटोबाट मिलनटोलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा सुरक्षाकर्मीलगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो । सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन सकेको छैन । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ ।

वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्बासी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन । वाग्मतीबाट प्रभावित भई उपत्यकाक अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०३ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org