ताजा समाचार

एसपी विष्ट छुटेकै दिन अंगुर जिसी पनि अदालतमा हाजिर

कञ्चनपुर ।

कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटीमा रिहा गरे लगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंगुर जिसी पनि अदालतमा हाजिर भएका छन् ।

१३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका जिसी सोमबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

फागुन २६ गते जिसीलाई उपस्थित हुन ३५ दिने सूचना अदालतले दिएको थियो। उनी १६ औँ दिनको बिहान अदालतमा हाजिर भएका हुन्।

अदालतमा दुई छुट्टाछुट्टै मुद्दाको बयान सकिएपछि थुनछेकको बहस हुने अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दीलिपसिंह विष्टका तर्फबाट दाजु खड्गसिंह विष्टले यातना दिएको आरोपमा ८ जना प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

तत्कालीन एसपी विष्ट चैत ५ गते अदालतमा उपस्थित भएका थिए।

विष्टलाई आइतबार प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले दिएको थियो।

निर्मला प्रकरणमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँबाट खटिएका जीसीलाई पनि यातना दिएको र प्रमाण नष्ट गरेको दुई आरोपमा मुद्दा चलाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org