ताजा समाचार

समायोजनमा जान्नाै भन्दै चिकित्सक आन्दोलनमा, वीर अस्पतालमा विरामीको विजोग

काठमाडौँ । चिकित्सकको आन्दोलनका कारण सरकारी अस्पतालमा उपचार गर्न आएका सर्वसाधारणको विजोक बन्दै गएको छ ।

देशकै पुरानो सरकारी स्वामित्वमा रहेको वीर अस्पतालमा चिकित्सकको आन्दोलनका कारण विरामीहरु आक्रोशित बन्दे गएका छन् ।

सरकारले कर्मचारी समायोजन गरेपछि त्यसको विरुद्धमा उत्रेका चिकित्सकहरुले ओपीडी सेवा ठप्प पार्दा सर्वसाधारणहरु अलपत्र बन्न पुगेका हुन् । नीजि अस्पताल पोस्ने किसिमले चिकित्सकले आन्दोलन गर्दा सर्वसाधारणहरुको विजोग मात्रै नभएर सरकारले गरेको व्यवस्थामा समेत धक्का लागेको छ । सरकारले अत्यावस्यक सेवामा हड्ताल, बन्द तथा आन्दोलनका कार्यक्रम गर्न बन्देज लगाउने निर्णय गरेपनि चिकत्सा क्षेत्रमा कहिले केहि त कहिले केहि बहानामा आन्दोलन हुँदै आएको छ ।

सेतो एप्रोन लगाएका चिकित्सक विरामी जाँच्न छाडेर आन्दोलनमा उत्रिदा सर्वसाधारण काठमाडाैंका नीजि अस्पतालमा जान बाध्य भएका हुन् । आक्रोशित भीडमा उभिएका एकजना विरामीका आफन्त भीमबहादुर खत्रीले लुम्बिनी भ्वाइससँग भने, यहाँ आफनो ड्युटि हुन्जेल आएर आन्दोलन गरेजस्तो गर्ने समय नसकिदै प्राइभेटमा गएर उपचार गर्ने गर्दा रहेछन् ।

सरकारी अस्पतालमा उपचार गर्न दाङको हापुरबाट आएका खत्रीले थपे, काठमाडाैं आएको ३ दिन भइसक्यो । आन्दोलन गर्छाैं भन्छन् । उपचार गर्दैनन् । मर्का हामीलाई परेको छ । खर्च सकिन थाल्यो । पैशा धेरै भएको भए बरु अन्त अस्पतालमा जान हुन्थ्यो । के गर्नु मेरो गरिबी र आन्दोलन सँगै हुन लेख्या रैछ ।

उनीसँगै उभिएका रोल्पा घर्तिगाँउका मित्रलाल घर्तिले थपे, हाम्रो मान्छेको ज्यान गयो भने कसले जिम्मा लिन्छ ? राज्य की चिकित्सकले ? हामीले तिरेको करबाट तलब खाने । हामीलाई नै सेवा नदिने गरेर कसरी हुन्छ ? हुनत सरकारले मिलाउन सक्या छैन् । हाम्रो कुरा कसले सुन्दिने होर ? भाग्य रहेछ भने बाँचिएला होइन भने भगवान भरोसा । निराश हुँदै उनले उपचारका लागि छुट्याएर ल्याएको पैसा विस्तारै सकिन लागेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

यति भएपछि हाम्रो टिम सोधपुछ शाखामा पुग्दा कर्मचारी समेत नसुने झै गर्दै बसेका थिए । यस्तैमा भेटिए कर्मचारी नारायण अधिकारी । विरामीको लाइन भएपनि चिकित्सक आन्दोलनमा छन् । हामीले यसबारे के भन्नु । फेरि हामीलाई यस्तो कुरा धेरै जानकारी नै हुँदैन् । त्यसपछि यसबारे बुज्न प्रशाशन शाखाका कर्मचारी कहाँ पुग्दा त्यहाँका कर्मचारी सन्तोष महर्जनले भने, सरकारले गरेको कर्मचारी समायोजनको प्रक्रियामाथि नै विरोध गर्दै डाक्टरहरुले हड्ताल गरेका हुन् । यसबारे सरकार र चिकित्सकबीच छलफल हुन्छ होला त्यसपछि समाधानको उपाए निस्किएला ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org