ताजा समाचार

प्रचण्डको अभिव्यक्तिले तरङगित पुर्व एमाले, वामदेव भने उभिए प्रचण्डको कित्तामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओली र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तरङ्ग उत्पन्न भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन भारत प्रस्थान गर्नै लाग्दा प्रचण्डले ‘फायर’ खोलेको भन्दै पूर्वएमाले पंक्ति सशंकित र तरंगित बनेको हो ।

गत सोमबार विराटनगरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एकीकरणका बेला दुई दलबीच सहमति भएको बताएका थिए । तर, बुधबार प्राइम टेलिभिजनले लिएको एकघण्टा लामो अन्तर्वार्तामा आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको भन्दै बहस नै त्यसमा केन्द्रित गरेपछि नेकपाभित्र झागिँदै गएको अन्तरविरोध अब सतहमै आएको हो ।

तर, आलोपालो सहमतिको खुलासा प्रचण्डले यसअघि पनि गरेका थिए । संयोग के परेको छ भने पहिलोपटक उनले भारत भ्रमणका बेला त्यहाँका पत्रकारसँग सहमतिको खुलासा गरेका थिए । यसपटक अर्का अध्यक्ष ओली भारत भ्रमणमा जाने तयारीमा रहेकै बेलामा उनीसँग भएको सहमतिका बारेमा खुलासा गरेका छन् ।

प्रचण्डको पक्षमा वामदेव,भन्छनःसरकारको नेतृत्व परिवर्तन सहमति उल्लंघन नहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव नभएको बताएका छन् ।

शुक्रबार प्रेस संगठन प्युठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’

उनले सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने बताए पनि कहिले र कसरी हुने भन्ने विषयमा भने केही खुलाएनन् ।

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमतिबारे पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अभिव्यक्ति सार्वजनिक भएलगत्तै वामदेवले प्युठान आएर नेतृत्व परिवर्तनको प्रसंग उठाएका हुन् ।

अर्को प्रसंगमा उनले सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनपक्षीय भएको बताए । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भइरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी गरे ।

वैदेशिक ऋण बढी भयो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘ऋण लिनैपर्छ, विकासका लागि विकसित देशले पनि लिएका छन् ।’

स्वरोजगार सिर्जना गर्न देशमा भएका खानी उत्खनन गर्नुपर्नेमा उनले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने भन्दै उनले भने, ‘सिस्टममा केही अप्ठ्यारा छन्, अब सफ्टवेयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ ।’

मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐन संशोधन तथा नयाँ कानुन निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैरकानुनी काम झनै बढेको उनको दाबी थियो ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनुपर्ने उल्लेख गरे । एकाध हुने आपराधिक घटनाको छानबिन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org