ताजा समाचार

रंगशालाको विवाद मिल्यो, स्थानीयबासी आफै जुटे भत्काइको बार बनाउन

चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउण्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् ।

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए ।

जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर लगाएर भत्काएका थिए । घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन् भने फाउन्डेसनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो ।

रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो । हाल त्यहाँ ७ मिटरको बाटो छ । रंगशाला निर्माण भएपछि ३१ मिटरको बाटो बन्दा आफ्नो उठिबास हुने भन्दै स्थानीयबासीले अहिले नै जग्गा छुट्याउन माग गरेका थिए । तर, फाउन्डेसनले यसबारे आफूले निर्णय गर्न नसक्ने भन्दै डीपीआर आएपछि छलफल गर्ने आश्वासन दिए । त्यही विवादमा स्थानीयबासीको समूहले जोडर लगाएका थिए ।

त्यसपछि फाउण्डसेन र स्थानीयबीच आरोप प्रत्यरोप सुुरु भयो ।

तर, शुक्रबार राति अवेर भरतपुर १६ र १७ का टोलसुधार समितिका प्रतिनिधि र धर्मुस सुन्तली फाउण्डेशनबीच सहमति भएको छ ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलकै उपस्थितिमा भएको भएको बैठकमा स्थानीय अगुवाहरुले घटनाप्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेका छन् । साथै भत्काएको बार स्थानीय टोल सुधार समिति र स्थानीयको पहलमा पुर्ननिर्माण गरी काम अगाडि बढाउने बताएका छन् ।

रंगशाला निर्माणमा अवरोध नगर्ने भन्दै उनीहरुले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् ।

निर्णयमा शान्तिदीप टोल विकास संस्थाका मिनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मिनबहादुर बस्नेत, रामपुर टोलविकास संस्थाकी रिता बास्ताकोटी, प्रकृति टोलविकास संस्थाका रामचन्द्र बास्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका शुशील लामाले हस्ताक्षर गरेका छन् ।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले पनि आफ्नो उपस्थितिमा स्थानीयबासीको निर्णय भएको स्वीकार गरे । ‘सहमतिपछि स्थानीयले नै ढलेको बार उठाउन थालेका छन् । सहमति व्यवहारमा कार्यान्वयन भएपछि हामीले काम सुरु गर्छौ भनेका छौं’ उनले अनलाइनखबरसँग भने ।

रंगशालामा देखिएको विवादका कारण सहयोगी मनहरुमा चोट परेको भन्दै उनले सबैसँग माफी मागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org