ताजा समाचार

निर्मला हत्याको एक वर्ष : न न्याय न आस

काठमाडौं।  भीमदत्त नगरपालिका–२, उल्टाखाम कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ ।

वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् ।
‘वर्ष दिनसम्म न हत्यारा पत्ता लाग्यो न अब न्याय पाउने आस नै छ,’ पन्त परिवारको यो बिलौना निर्मलालाई गुमाउँदा जस्तो थियो अहिले पनि उस्तै छ । उनकी आमा दुर्गादेवी भन्छिन्, ‘न न्याय पाइयो, न अब आस नै छ ।’

१० साउन २०७५ मा साथीको घर जान भन्दै घरबाट हिडेकी निर्मलाको ११ गते बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । यसबीचमा हत्यारा पत्ता लगाउन सरकारबाट भएका हालसम्मका सबै प्रयास खेर गएको छ । तर, पनि सरकारले ढिलोचाँडो हत्यारालाई कानुनी कठघरामा ल्याउने दाबी गर्न भने छाडेको छैन ।

निर्मलाका बाबु यज्ञराज पन्तले छोरीको न्यायका लागि लड्दा लड्दै हारेको बताए । ‘न्यायको पर्खाइमा बस्दा बस्दै आस मरिसक्यो, हामीले छोरी मागेका थिएनौं, न्याय मागेका हौं, राज्यले एक वर्षसम्म पनि न्याय दिन सकेन, मैले हारें,’ निर्मलाका बाबु यज्ञराजले राजधानीसँग भने । उनले गृहमन्त्री रामबहादुर थापाको पछिल्लो अभिव्यक्तिले झनै निराश बनाएको बताए ।

आधा दर्जन समिति, प्रगति शून्य

यसबीचमा निर्मलाको हत्याको छानबिनका लागि करिब आधा दर्जन छानबिन समिति बनेका छन् । सबैजसो समितिले निर्मलाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ । यस्तै, ती प्रतिवेदनले प्रहरीबाट सुरुवाती चरणमा नै अनुसन्धानमा लापर्बाही भएको भन्दै निष्कर्षसमेत दिएका छन् । तर, हत्यामा संलग्नलाई भने कुनै पनि प्रतिवेदनले किटान गर्न सकेको छैन ।

हत्याको अनुसन्धानका लागि यसबीचको अवधिमा सरकारी तबरबाटै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ७ भदौ २०७५ मा पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो । प्रहरीका डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित सो समितिले स्थलगत अध्ययनपछि गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदनसमेत बुझाइसकेको छ । तर, सो प्रतिवेदन अहिलेसम्म अलपत्र छ ।
यसबाहेक पनि सो प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरू तयार भएका छन् । अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् ।
मैनाली समितिको प्रतिवेदनले निर्मलाको बलात्कारमा एक व्यक्ति मात्रै संलग्न रहेको नदेखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निचोड दिएको थियो ।

दुई दर्जन बढीको डीएनए जाँच

घटनाका विषयमा शंकामा रहेका दुई दर्जनभन्दा बढी शंकास्पद व्यक्तिको हालसम्म डीएनएसमेत जाँच भएको छ करिब एक दर्जन शंकास्पद व्यक्ति पक्राउ परेर पनि छुटिसकेका छन् । डीएनए परीक्षण गरिएका कसैको पनि नमुना निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबसँग मेल खाएको छैन ।
यसबीचमा हजारौं व्यक्तिको कल डिटेललाई समेत प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । सो समयमा घटनास्थल नजिकको नेटवर्कमा चलेका प्रायः सबै जसो फोनलाई प्रहरीले ट्र्याक गरिसकेको छ । तर, पनि वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन ।

हत्यारा नभेट्दासम्म विश्राम हुन्न : प्रहरी

प्रहरीले भने निर्मला पन्तको हत्या अनुसन्धान जारी रहेको र हत्यारा पत्ता नलाग्दासम्म अनुसन्धानले विश्राम नपाउने बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले निर्मला हत्याको अनुसन्धान निरन्तर चलिरहेको र हत्यारा पत्ता नलाग्दासम्म अनुसन्धानसमेत नरोकिने बताए ।‘अनुसन्धान अहिले पनि जारी छ, हत्यारा पत्ता नलाग्दासम्म अनुसन्धान जारी रहन्छ, अनुसन्धानले विश्राम लिँदैन ।’ प्रहरी प्रवक्ता पोखरेलले राजधानीसँग भने ।
उनले अहिले पनि स्थानीय प्रहरी, प्रदेश स्तरको प्रहरी टोली र केन्द्रबाट समेत अनुसन्धान टोली कञ्चनपुर गएर हत्या प्रकरणबारे अनुसन्धान जारी राखेको जनाए ।

डीआईजी पोखरेलले शंकास्पद व्यक्तिहरूलाई अहिले पनि प्रहरीले निगरानीमा राखिरहेको र पक्राउ परेर छुटेकालाई समेत बेलाबखत थप अनुसन्धानका लागि बोलाइने गरेको जनाए ।
निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि एक वर्षको अवधिमा दर्जनभन्दा बढी टोली कञ्चनपुरमा खटिइसकेका छन् । हत्या भए यता कञ्चनपुरका तीन जना प्रहरी प्रमुख सरुवामा परिसकेका छन् । सुरुवाती चरणमा नै एसपी रहेका डिल्ली विष्टलाई हटाएपछि सो प्रकरणको अनुसन्धानका लागि प्रधान कार्यालयले अर्का एसपी कुवेरसिंह कडायत र दुर्गा सिंहलाई पठाएको थियो ।

त्यसपछि अर्का एसपी सुदीप गिरीलाई पठाइएको थियो । हाल उनको पनि कैलाली सरुवा गरिएको छ । यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखाबाट डीएसपी मनोहर भट्टको पनि इलाका प्रहरी कार्यालय टीकापुरमा सरुवा गरिएको छ । सुरुवातमा नै अंगगुर जिसीलाई अनुसन्धानमा खटाइएको थियो ।
हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी रामदत्त जोशी सो घटनाको प्राविधिक विश्लेषणमा छन् । यस्तै, महानगरीय आयुक्तको कार्यालय, रानीपोखरीको इन्टलिजेन्स शाखाका एसपी गणेश चन्दसमेत अनुसन्धानका लागि कञ्चनपुरमै रहेको बताइन्छ ।

विष्टतिरै सुई

हत्याको अुसन्धानको सुरुवातको चरणमा नै प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । प्रहरीले विष्टलाई नै दोषी देखाउन अनेक बहानाबाजी समेत गरेको थियो । तर, सर्वत्र विरोधकै बीच भएको विष्टको डीएनए नमुना परीक्षणमा निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वावको नमुनासँग मेल खाएन । त्यसपछि विष्ट छुटे ।
तर एक वर्षका बीचमा प्रहरीले फेरि विष्टतिर नै फेरि अनुसन्धानको सुई घुमाएको थियो । हाल पनि विष्टका विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरी स्रोतले बताउँदै आएको छ ।

डीएनएमै प्रश्न

निर्मला हत्याको सुरुवाती चरणको अनुसन्धानको कमजोरीका कारण यदाकदा उनको योनीबाट निकालिएको भेजिनल स्वाबमा समेत प्रश्न उठ्ने गरेको छ । सोही प्रश्नका कारण एक वर्षको यस अवधिमा उनको आमाको डीएनएसँग समेत उनको नमुना परीक्षण गरिएको थियो । तर, सो नमुनासँग छोरीको नमुना मेल खाएपछि भने सो प्रश्न गलत साबित भएको मानिन्छ ।
तर, निर्मलाको भेजिनल स्वाबसँग हालसम्म शंकास्पद ज–जसको डीएनए जाँच गरियो ती सबै नमुना ठीक छन् त भन्ने प्रश्नसमेत हालसम्म पनि शंकाको घेरामा नै छ । यसैबीच प्रहरीले डीएनए जाँचका लागि लिइएका नमुनालाई अन्तर्राष्ट्रिय स्तरमा जाँचका लागि पठाउने तयारी गरेको बताइए पनि हालसम्म त्यतातर्फ प्रहरी पुग्न सकेको छैन । अर्कातर्फ डीएनए जाँचका लागि भएको प्रविधिमा समेत बेलाबखत प्रश्न उठ्दै आएको छ ।

अदालतमा मुद्दा

प्रहरी भन्छ, निर्मला घटनाको अनुसन्धान जारी छ । हाल तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रमाण नष्ट र चार जनाविरुद्ध यातना कसुरको मुद्दा अदालतमा विचाराधीन छ । उनीहरूलाई जिल्ला अदालतले धरौटीमा छाडेको छ । घटनामा संलग्नताको आरोप लागेकाहरूले पनि मानहानिसँगै क्षतिपूर्तिको माग गरी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

घाइतेको बिचल्ली

निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएकाहरू अहिले पनि राजधानीमा उपचार जारी छ । ७ भदौको आन्दोलनका क्रममा दायाँ खुट्टामा गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका–४ का अर्जुन भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अझै अचेत अवस्थामा छन् । उनको दायाँ खुट्टा काटिएको छ भने शरीरका अन्य भागसमेत चल्दैन । एक वर्षदेखि अस्पतालमा रहेका उनको उपचारमा समस्या भएको अर्जुनकी आमा शिवकला गुनासो गर्दै आएकी छन् । गत वैशाखबाट सरकारले उपचार खर्च दिन छाडेपछि समस्या भएको उनले बताएकी हुन् ।

निर्मलाका बुवा यज्ञराज पन्तसमेत घाइतेका परिवारले फोन गरेर गुनासो गर्ने गरेको बताउँछन् ।
‘हामीले त न्याय पाएनौं ती घाइतेका परिवारबाट फोन आउँछ । सरकारले उपचार खर्च दिन छाड्यो भनेर रुन्छन्, ‘हामीलाई केही चाहिएन घाइतेको उपचार होस्,’ निर्मलाकी बाबु पन्तले भने ।
प्रहरीको गोली लागेर घाइते भएका उमेश देउवा पनि अहिले उपचारमै छन् । उनको स्वास्थ्यमा भने क्रमिक सुधार आएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । तर, नियमित फलोअप गराउन आर्थिक अभावका कारण समस्या भएको उनको परिवारको समेत गुनासो छ । यसैगरी, चेतन भट्ट, सुरेन्द्र देउवालगायत घाइते पनि नियमित उपचारकै क्रममा अस्पताल धाउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org