ताजा समाचार

१४ औ महाधिवेशनको मिति तय गर्न केन्द्रिय सदस्यहरुको माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औं महाधिवेशनको मिति निर्धारण गरेर अगाडि बढ्न नेतृत्वलाई दबाब दिएका छन् ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुँदै आएको छ । केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् ।

केही केन्द्रीय सदस्यहरुले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दे विधान विपरित कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाएर १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रित भए पनि निष्कर्षमा भने पुगि नसकिएको बताए ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए । उनले संक्रमणकालीन व्यवस्थाको नाममा भर्खरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरीत कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए ।

असार २२ गतेदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबीचमा रोकिँदै चल्दै आएको छ । बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये नियमावलीको एजेण्डामा केन्द्रीय कार्यसमितिले सर्वसम्मत रुपले परिमार्जन गरेर सहमतिपूर्वक टुंग्याउने गरी नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाइसकेको छ ।

प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेण्डामा संयुक्त छलफल गरिने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org