ताजा समाचार

म्याग्दीमा बस खस्यो, विद्यार्थीसहित ४ जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २६ जना घाइते भएका छन् । दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले बताए । मृत्यु भएकामध्ये मालिका गाउँपालिका ७ बिमकी ७० वर्षीया सतदेवी भट्टचन, ११ वर्षीया आयुसा जुग्जाली र अन्दाजी ८ वर्षीय रवी जुज्गालीको सनाखत भएको छ ।

एक महिलाको भने सनाखत हुन सकेको छैन । आयुषा किसानी माविको कक्षा ६ र रवी कक्षा ३ मा पढ्ने विद्यार्थी हुन् । २१ जना घाइतेको प्राथमिक उपचार केन्द्र दरवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाँचजना घाइतेलाई थप उपचारका लागि बेनी अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए ।

घाइतेहरुमा मालिका–७ बिमका ६० बर्षीय राजमान दर्जी, ५३ बर्षीय हुमबहादुर जुग्जाली, ३८ बर्षीय पलप्रसाद जुग्जाली, २६ वर्षीया नरदेवी परियार, २६ वर्षीय दिलु शेरपुञ्जा, ६ बर्षीया कृष्टिना जुग्जाली, ६१ वर्षीय तनदेवी जुग्जाली, ६० वर्षीय चन्द्रकली दर्जी, ३८ वर्षीय पलदेवी जुग्जाली रहेका छन् ।

बिमकै १८ बर्षका सुरेश जुग्जाली, ३१ बर्षीया लीला जुग्जाली, धवलागिरी गाउँपालिका ३ दरकी १८ वर्षीया रिलमाया बुढा, बेनी नगरपालिका ३ भकिम्लीका ३५ बर्षीय केशव शर्मा न्युरे, मंगला गाउँपालिका ५ छिस्वाङका २२ बर्षीया रमिला खत्री, बेनी नगरपालिका ९ घतानका बिसन खत्री, बेनी ४ राक्सेका १७ वर्षीय गौरब पौडेल, १९ वर्षीय प्रमिस पौडेल र ताराखोला गाउँपालिका ५ का १७ बर्षीय बिजय कडेलको घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारपछि दरवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org