ताजा समाचार

१३ औं सागः भुटानविरुद्ध नेपालको किर्तिमानी जित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली क्रिकेट टोलीले किर्तिमानी जित हासिल गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत नेपालले कमजोर प्रतिद्धन्द्धी भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गर्दै किर्तिमानी जित हासिल गरेको हो । नेपालले यसअघि सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित रहेको थियो ।

नेपालले दिएको २ सय ३७ रनको विशाल लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो । उसका लागि मिक्यो दोर्जेले २३ बलमा ४ चौका सहित सर्वाधिक २७ रनको योगदान दिए । उनलाई १६ औं ओभरको दोस्रो बलमा पारस खड्काले दीपेन्द्र ऐरीबाट क्याच आउट गराएका थिए । ओपनर तेनजिङले ९, तोब्देन सिन्गे ११, जिग्मी सिन्जे ८ र सोनमले १५ रन जोडे । नेपालका पारस खड्काले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ, ललित नारायण राजवंशी र करण केसीले १–१ विकेट लिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शतकमा २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि ट्वान्टी अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक गर्दै १ सय ७ रनको शतकीय इनिङ खेले । टि ट्वान्टी आईमा नेपालको लागि यो दोस्रो शतक हो । यसअघि पारसले सिंगापुरविरुद्ध १ सय ६ अविजित शतकीय इनिङ खेलेका थिए । जुन लक्ष्य पछ्याउँदा टि ट्वान्टीमा शतक प्रहार गर्ने पारस विश्वकै पहिलो कप्तान हुन् ।

दीपेन्द्र सिंह ऐरी २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा नट आउट रहे । ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । जुन साझेदारी पहिलो विकेटका नेपालले टि ट्वान्टी आईमा उच्च साझेदारी हो ।

नवौं ओभरको दोस्रो बलमा कर्मा दोर्जेले कप्तान जिग्मे सिङ्गेबाट क्याच गराउनु अघि पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए । पारसको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । ११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउट गराए । आरिफ शेख ४ रनमा नट आउट रहे । भुटानका कर्मा दोर्जेले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा शुक्रवार माल्दिभ्ससँग खेल्ले छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org