ताजा समाचार

घरेलु मैदानमा नेपालको पहिलो ऐतिहासिक जित, कुशलको विश्व रेकर्ड

 

काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले पहिलो जित दर्ता गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो ।

नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो ।

अमेरिकाका लागि इयान होलाण्डले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खराब सुरुवात गरेको होलाण्डले १ सय ११ बलमा ७ चौकासहित ७५ रन बनाए ।

यस्तै क्यामरुन स्टेभेनसनले १९ रन जोड्दा कारिमा गोरेले १० रन बनाए ।

नेपालका करण केसीले ४ विकेट लिए  । यस्तै  सुशन भारीले ३ विकेट लिंदा सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।

नेपालको लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । विनोदले ५९ रन बनाए । विनोदले ६२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा विनोदको यो पहिलो अर्धशतक हो । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने उनी आठौं नेपाली खेलाडी हुन् ।

डेब्यु खेलमै अर्धशतक पुरा गरेका कुशलले ५० रन बनाए । कुशलले डेब्यु खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान समेत बनाएका छन् ।

कुशल सर्वाधिक कम उमेरमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । कुशलले १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् ।

यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो । पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।

यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा पारस खड्का १९ रनमा आउट भए । करण केसीले १२ रन जोडे ।

अमेरिकाका क्यामरुन स्टेभेनसनले ३ विकेट लिए । रुस्ती थोरेन र कप्तान सौरभ नेत्राभाल्करले २/२ विकेट लिए ।

जितसँगै लिगमा नेपालले २ खेलमा २ अंक जोडेको छ । अमेरिकाले १० खेलमा १२ अंक जोडेको छ ।

यससँगै नेपालले घरेलु भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित हात पारेको छ ।

अब नेपालले आइतबार ओमानसँग खेल्नेछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org