ताजा समाचार

अमेरिका ३५ रनमै अलआउट, सन्दीपको ६, सुशनको ४ विकेट

काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ। यो स्कोर एकदिवसीय क्रिकेटमा सबैभन्दा कम रनसँग बराबरी हो। यसअघि २००४ मा श्रीलंकाले जिम्बाब्वेलाई ३५ रनमै आउट गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले खराब प्रदर्शन गर्दै १२ ओभरमा ३५ रन बनाउँदा सबै विकेट गुमाएको हो। अमेरिकाका लागि एक खेलाडीले मात्रै दोहोरो स्कोर बनाए।

पहिलो विकेटको रुपमा इयान होल्यान्डलाई शुन्यमा गुमाएको अमेरिकाले ज्याभियर मार्सललाई १६ रनमा गुमाएको थियो। १.६ ओभरमा होल्यान्डलाई शुन्यमै आउट गर्दै सन्दीपले नेपाललाई सुरुवाती विकेट दिलाएका थिए। त्यसपछि सुशनले २३ रन हुँदा मार्सललाई १६ रनमा आउट गराए। योसँगै अमेरिका दबाबमा आएको थियो।

त्यसपछि ७.२ ओभरमा सन्दीपले मोहम्मद पटेललाई ४ रनमा आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए। यहि ओभरको पाँचौ बलमा सन्दीपले निसर्ग पटेललाई २ रनमा आउट गर्दै एकै ओभरमा २ विकेट लिए। योसँगै अमेरिकाले चौथो विकेट गुमाएको थियो।

त्यसपछि नवौं ओभर बलिङ गर्न सुशन भारीलाई दिए। सुशनले ८.३ ओभरमा आरोन जोन्सलाई ४ रनमा आउट गराए। अमेरिकाले २९ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमायो। १०औं ओभर बलिङमा आएका सन्दीपले फेरि ९.५ ओभरमा विकेट लिए। यो पटक भने सन्दीपको बलमा तमिल पटेल एल्बिडब्लु धरापमा परे।

सन्दीपसँगै सुशन पनि रोकिएनन्। उनले पनि एकपछि अर्को ओभरमा विकेट लिदै गए। ११औं ओभर बलिङ लिएर आएका सुशनले यो ओभरमै २ विकेट लिदै नेपाललाई आठौं सफलता दिलाए। उनले १०.१ ओभरमा क्यामरन स्टेभनसनलाई १ रनमा आउट गराए। यहि ओभरको अन्तिम बलमा रुष्टली थोरनलाई शुन्यमा आउट गराउँदै सुशनले ४ विकेट लिए।

त्यस्तै, १२औं ओभरमा सन्दीपले २ विकेट लिदा अमेरिका अलआउट हुन पुग्यो। सन्दीपले ११.३ ओभरमा अक्षय होमराजलाई ४ रनमा आउट गराए भने यो ओभरको अन्तिम बलमा नस्टथस केन्जिकेलाई शुन्यमै आउट गराए।

 

योसँगै सन्दीपले ६ विकेट लिए। उत्कृष्ट बलिङ गरेका सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै, सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिएर ४ विकेट लिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org