ताजा समाचार

बिना अक्सिजन सगरमाथा आरोहण गरेर विश्वरेकर्ड राख्ने तयारीमा टासी लाक्पा

काठमाडाैं । सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६७ वर्ष भइसकेको छ।

तर यो अवधिमा जम्मा दुई पटक मात्रै पर्वतारोही हिउँदमा शिखर पुगेका छन्। करिब दुई महिना लगाएर।

आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेको समाचार अनुसार यस्तै चुनौती लिएर नेपाली पर्वतारोही आज सगरमाथातर्फ जाँदैछन्, त्यो पनि विनाअक्सिजन।

अत्याधिक चिसो हुने, हिउँ परिरहने र बाटो बनाउन र पहिल्याउन अत्याधिक चुनौती हुने हिउँदयाममा सगरमाथा लगायतका हिमचुचुरा आरोहण गर्नुलाई पर्वतारोहण क्षेत्रमा असामान्य घटना नै मानिन्छ।

यस्तै, असमान्य सिजनमा बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले नेपाली आरोही टासी लाक्पा शेर्पा सोमबार सगरमाथातर्फ जाँदै छन्।

पर्यटन विभागले उनलाई आइतबार साँझ आरोहण अनुमती प्रदान गरेको निर्देशक मिरा आचार्यले बताइन्। आरोही टासी लाक्पाका अनुसार सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ६७ वर्षयता दुईपटकमात्रै हिउँदयाममा सफल आरोहण भएको छ।

‘१९८० मा जापानी आरोहीहरु र १९९३ मा पोलिस आरोहीहरुले कम्तीमा दुई महिना लगाएर हिउँदयाममा सगरमाथा आरोहण गरेको रेकर्ड फेला पर्‍यो,’ संखुवासभाको मकालु मुलघर भएका ३४ वर्षीय टासीले भने, ‘यी दुई आरोहण बाहेक हिउँदयाममा कुनै पनि प्रयास सफल भएको रेकर्ड देखिएको छैन।’

आरोही शेर्पाले आफू यसपटकको हिउँदयामको आरोहणमा पहिलो नेपाली, विना अक्सिजन ५ दिनमा सक्नेगरी तीन विधाको रेकर्ड बनाउने लक्ष्य राखेर सगरमाथा आरोहणमा जान लागेको बताए। यसबारे गिनिजको टोलीलाई पनि जानकारी गराइसकिएको छ।

टासीले विभागलाई बुझाएको कार्यतालिका अनुसार उनी सोमबार काठमाडौंबाट लुक्ला हुँदै हेलिकप्टरमा ५३ सय ८० मिटर उचाईमा रहेको सगरमाथा आधार शिविर पुग्ने छन्।

मंगलबार आधार शिविरबाट ६४ सय मिटर उचाईमा रहेको दोस्रो शिविर, बुधबार ७९५० मिटर उचाईमा पर्ने चौथौ शिविर, बिहीबारका दिन उनले ८८४८ मिटर उचाइको चुचुरोमा पाइला राख्ने छन्।

उनी बिहीबारै दोस्रो शिविरमा झर्ने छन र पाँचौ दिन हेलिकप्टरबाट काठमाडौं फर्किने छन्।

टासी लाक्पा वसन्तकालीन हिमाल आरोहण सिजनमा बिना अक्सिजन आरोहण गर्ने पहिलो नेपाली कान्छो आरोही पनि हुन् । उनले ०६२ सालमा १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज वर्ल्ड रेर्कड्समा नाम लेखाएका थिए।

उनले ८ पटक सगरमाथा आरोहण सकिसकेका छन् । अरोही टासी लाक्पासँग सहयोगीका रुपमा पासाङ नोर्बु शेर्पा, हलुङ दोर्जी शेर्पा र मिङतेम्बा शेर्पा गाइडका रुपका जाँदैछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org