ताजा समाचार

लकडाउनमा अलपत्र परेका पर्यटक लिएर निगमको विमान अष्ट्रेलिया उड्दै

काठमाडौं । नेपाल वायुसेवा निगमलाई अष्ट्रेलिया चार्टर उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।

लकडाउनका कारण नेपालमा रोकिएका अष्ट्रेलियाका नागरिक लैजान नेपालस्थित अष्ट्रेलिया दूतावासको पहलमा निगमको चार्टर विमानबाट लैजान खोजिएको हो ।

अष्ट्रेलिया उडानका लागि प्राधिकरणले अनुमति दिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

आज बेलुका साढे ५ बजे उड्ने विमान मलेसियाको क्वालालम्पुरमा अवतरण गरेर इन्धन भरेर अष्ट्रेलियाको ब्रिसवेन जाने क्षेत्रीले जानकारी दिए ।

गत शनिबार नेपालस्थित अष्ट्रेलिया दूतावासले नेपालमा रहेका आफ्ना नागरिक जो स्वदेश फर्कन चाहन्छन् सम्पर्कमा रहन आग्रह गरेको थियो ।  लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका उनीहरुलाई नेपाल पर्यटन बोर्डको पहलमा काठमाडौं ल्याइएको छ ।

दूतावासले अष्ट्रेलियाको सिड्नी उडान गर्ने भनी सूचना सार्वजनिक गरे पनि ब्रिसबेन उडान गर्न लागिएको हो ।  दूतावासका अनुसार अष्ट्रेलियन नागरिक र पीआर पाएका नेपाली मात्रै यो चार्टर उडानमा जान पाउनेछन् ।

चार्टर उडानका लागि इकोनोमी क्लासको टिकट दर एक हजार ८ सय अमेरिकी डलर अर्थात नेपाली करिब २ लाख १६ हजार रुपैयाँ र विजनेस क्लासको टिकट दुई हजार ३ सय डलर अर्थात २ लाख ७६ हजार रुपैयाँ लिइएको छ ।

दूतावासका अनुसार ४ सय बढी अष्ट्रलियन नागरिक र १ सय ८७ पीआर लिएका व्यक्तिहरु रहेका छन् ।  नेपालबाट चार्टर उडान गरेर जाने निगमको विमानले अष्ट्रेलियाबाट नेपालीसहित कुनै पनि यात्रु भने लिएर आउन पाउँदैन ।

मंगलबार पनि कतार एयरवेजको विमान चार्टर गरेर नेपालमा रहेका अमेरिकी नागरिक स्वदेश फर्किसकेका छन् ।  नेपालस्थित अमेरिकी दूतावासको आग्रहमा कतार एयरवेजको चार्टर गरेको विमान काठमाडौं आएको थियो ।

नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकहरुलाई पनि काठमाडौंसम्म ल्याउने नेपाल पर्यटन बोर्डले समन्वय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org