ताजा समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो, संक्रमितको संख्या साढे ९ लाख नजिक

एजेन्सि । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बुधबार एकै दिन ४८ सय ८३ जनाको मृत्यु भएको छ।

यो कोरोना संक्रमणको कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो। हिजो एकै दिन कोरोनाका ७६ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४७ हजार १ सय ९४ पुगेको छ।

संक्रमितको संख्या ९ लाख ३९ हजार ४३१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। यो बिहीबार बिहान पौने ७ बजेसम्मको तथ्यांक हो।

अमेरिकामा बुधबार कोरोना संक्रमणबाट एक हजार ४९ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ। अमेरिकामा अहिलेसम्म कोरोनाबाट ५१ सय २ जनाले ज्यान गुमाइसकेका छन्।

त्यहाँ बुधबार मात्रै २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि बुधबार स्पेनमा धरैको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ९ सय २३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ।

इटालीमा बुधबार ७ सय २७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म १३ हजार १५५ जनाको मृत्यु भइसकेको छ।
युकेमा बुधबार यसको संक्रमणबाट ५ सय ६३ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट त्यहाँ अहिलेसम्म २३ सय ५२ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या २९ हजार नाघेको छ।

फ्रान्समा बुधबार यसको संक्रमणबाट ५ सय ९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या झण्डै ५७ हजार पुगेको छ।

त्यसैगरी बुधबार जर्मनीमा १५६, इरानमा १३८, बेल्जियममा १२३, नेदरल्यान्डमा १३४, स्वीडेनमा ५९, ब्राजिलमा ४१, पोर्चुगलमा ४१, स्वीटजरल्यान्डमा ५५, टर्कीमा ६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org