ताजा समाचार

कोरोनाविरुद्ध संघर्षमा नेपाललाई दृढताका साथ सहयोग गर्छौंः चिनियाँ राष्ट्रपति

काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा कोरोना संकटको अवस्थाको अध्ययन गरिरहेको र कोभिड–१९ विरुद्ध नेपालको संघर्षलाई दृढताका साथ सहयोग गर्ने बताएका छन्।

सोमबार साँझ नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्।

चिनियाँ राष्ट्रपति सीले दुवै देशका स्वास्थ्य तथा मेडिकल संस्थाहरुलाई आपसी सञ्चार र सहकार्यलाई थप सशक्त बनाउन पनि आग्रह गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

पहिलोपटक देखा परेको यो महामारीको चुनौती सामना गर्न अन्तर्राष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्यको खाँचो पहिलेभन्दा अझ बढेको कुरा चिनियाँ राष्ट्रपतिले औँल्याएका छन्।

उनले यो अवस्थामा बहुपक्षीयताको रक्षा र अन्तर्राष्ट्रिय न्याय र नैतिक बलको महत्व हुने बताए।

कोरोना संक्रमणको संकट सामना गर्नका लागि दुई देशले चालेका सशक्त कदमको दुवै राष्ट्र प्रमुखले एक अर्काको प्रशंसा गरेका थिए।

कुराकानीपछि परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा चिनियाँ राष्ट्रपति र त्यहाँका जनताको प्रशंसा गरेकी थिइन्।

मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली दोश्रो मिर्गौला प्रत्यारोपणपछि निको भई नियमित कार्यमा फर्केकोमा चिनियाँ राष्ट्रपतिले खुशी व्यक्त गरेका थिए।

ट्रान्स–हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत दुई देशबीच कनेक्टिभिटीलाई थप विस्तार गर्नेबारे उच्चस्तरीय भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्नेमा दुई राष्ट्रपतिले जोड दिएका थिए।

परिस्थिति सामान्य बन्नासाथ यी परियोजनाहरुलाई तीव्रताका साथ अगाडी बढाउन दुवै राष्ट्रपतिले जोड दिएको मन्त्रालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org