ताजा समाचार

बालुवाटारमा ओली समूहको बैठक, ओलीको पक्षमा सांसदले बहुमत जुटाउदै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किँदै गइरहेका बेला बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली समूहको बैठक बसिरहेको छ।

बुधाबर दिउँसो काठमाडौं उपत्यकामा उपलब्ध ओली पक्षका सांसद र केन्द्रीय सदस्यहरु बालुवाटार पुगेका हुन्। ‘हामी अहिले बालुवाटारमा छौं’, एकजना सांसदले थाहाखबरसँग भने, ‘बैठक चलिरहेको छ। साँझमा सचिवालय बस्‍ने भएकाले सम्भावित रणनीतिबारेमा छलफल भइरहेको छ।’ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईमध्ये एक पद छाड्न माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले दबाब बढाउँदै लगेपछि यो बैठक भएको हो।  यो बैठकले अब आइपर्ने जुनसुकै चुनौतीसँग फेस गर्ने गरी रणनीति बनाउने भएको छ।

सांसद र केन्द्रीय सदस्यहरुलाई पनि त्यही अनुसार तयार रहन निर्देशन दिइने भएको छ। प्रचण्डले आफूलाई एकल अध्यक्ष बनाउन ओलीमाथि दबाब बढाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई दुईमध्ये एक पद त्याग्‍न भनिरहेका छन्। तर ओलीले भने तीनजना अध्यक्षमा सहमति गरेर जान प्रस्ताव गरेका छन्। तर नेपाल समूहले उक्त कुरालाई अस्वीकार गरेको छ। संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यममन्त्री चयनका बेला बहुमतको आडमा आफूहरुलाई पेलेको भन्दै नेपाल पक्ष क्रुद्ध छ। यस्तोमा ओलीले संघीय सरकारका केही मन्त्री र प्रदेशका कम्तीमा दुईजना मुख्यमन्त्री नेपाल पक्षबाट थप्‍ने प्रस्ताव पनि गरेका छन्। तर नेपाल पक्षले हाताहाती सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेपछि ओलीलाई अफ्ठ्यारो परेको छ।

नेकपामा अहिलेसम्म संसदीय दलमा ७८ जना सांसदका साथ रहेको छ। अर्कातिर नेपालतर्फ ४३ जना र प्रचण्डको पक्षमा ५३ जना सांसद रहेको बताइन्छ। ‌ओलीले यो पटक पनि विवादलाई सकेसम्म प्रचण्ड र नेपालसँगै बसेर टुंग्याउन चाहेका छन्। तर नेपाल र दाहाल समूह अहिले देखिएको विवाद सचिवालयमा छलफलपछि स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर छलफल हुनुपर्ने अडानमा छन्। नेकपाका सचिवालय बैठक आजै बालुवाटारमा अपरान्ह ५ बजे बस्‍ने कार्यक्रम छ। यस्तोमा ओली समूहको गुटभेला अहिले बालुवाटारमा बसिरहेको छ। मंगलबार मात्रै ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमै भेटेका थिए। उक्त भेटमा प्रचण्डले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद त्याग्‍न दबाब दिएको खुलेको छ।  सोमबार मात्रै बालुवाटारमै भएको सांसदहरुसँगको अन्तरक्रियामा ओलीले अन्य समूहहरु आक्रमक ढंगले आएकाले परिआएमा पार्टी विभाजनसम्मको अवस्थाको सामनाका लागि तयार रहन आग्रह गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org