ताजा समाचार

नेपाली भूमिमा भारतीय अतिक्रमण : प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछिको अवस्थालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह साढे ४ बजेका लागि सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका सञ्‍चारविज्ञ रामशरण बजागाईंका अनुसार यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ। बैठकमा पूर्वप्रधानमन्त्रीहरु र सीमाविदलाई पनि डाकिएको छ।

भारतले अघिल्लो शुक्रबार लिपुलेकस्थित नेपाली भूमिको २२ किलोमिटर क्षेत्रमा अतिक्रमण गर्दै सडक बनाएपछि यसअघि नै नेपालले विरोध जनाइसकेको छ। यही विषयमा नेपालस्थित सबै दलबीच साझा धारणा बनाएर अघि बढ्न सर्वदलीय बैठक डाकिएको बजागाईंले जानकारी दिए। बुधबार नै सरकारले भारतीय सैन्य क्याम्प रहेको नेपाली भूमि कालापानीबाट १२ किलोमिटर दक्षिण-पूर्वस्थित छाङ्रुमा सशस्त्र प्रहरीको २५ जनाको टोली उतारिसकेको छ।

छाङ्रुमा अब सशस्त्र प्रहरीले स्थायी क्याम्प नै बनाएर बस्ने तयारी गरेको छ।  प्रधानमन्त्री ओलीले बुधबारै बस्न लागेको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिसकेका छन्। उनले सर्वदलीय बैठकको तयारीमा जुट्नु पर्ने भएकाले आफू उपस्थित हुन नसक्ने बताएपछि नेकपा स्थायी कमिटी रोकिएको छ।

आजको बैठकमा केही दिनयता तीव्र गतिमा फैलिरहेको कोरोना भाइर संक्रमण र यसलाई नियन्त्रणमा अपनाइएका उपायबारे समीक्षा तथा भावी रणनीतिबारे पनि छलफल हुने भएको छ। नेपाली भूमिमा बनाइएको सडकबारेमा नेपालले यसअघि नै विरोध जनाइसकेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपाली भूमिमा गरिएको अतिक्रमण रोकेर फिर्ता जान भारतलाई भनिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org