ताजा समाचार

नक्सा प्रकाशन पार्टीको सामूहिक निर्णय, व्यक्तिको देवत्वकरण नगराैँ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीकै भएकाले व्यक्तिलाई देवत्वकरण गर्न नहुने बताएका छन् ।

नेकपाको सचिवालय बैठकले जेठ २ गते लिम्पियाधुरासहितको नक्सा छाप्न सरकारलाई निर्देशन दिएको थियो । त्यही निर्देशनबमोजिम सरकारले नीति तथा कार्यक्रममा नक्सा छाप्ने कुरा समाविष्ट गरेको गौतमको ठहर छ ।

उपाध्यक्ष गौतमले सामाजिक सञ्जालमा लामो स्ट्याटस राख्दै वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको बताएका छन् ।

“ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ,” उनले भनेका छन्, “नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु ।”

“यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु । वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ । किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ,” उनको दाबी छ ।

अनुयायीहरू व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन रहेको भन्दै यो कदम पार्टीको सामुहिक निर्णयको उपज भएको बताएका छन् ।

“यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ,” उनले आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org